एमाले महाधिवेशनमा सहभागी हुन माेदीले यी दुई नेतालाई नेपाल पठाउँदै

एमाले महाधिवेशनमा सहभागी हुन माेदीले यी दुई नेतालाई नेपाल पठाउँदै

काठमाडौँ – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट दुई नेता आउने भएका छन्। भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा दुई नेता राष्ट्रिय महाधिवेशनमा सहभागी हुने जानकारी दिएका हुन्।

भाजपाको तर्फबाट पूर्वमन्त्री हर्श वर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदी एमालेको महाधिवेशनमा अतिथिका रुपमा आउने छन्।एमालेको १०औँ महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ। मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

त्यस्तै महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने कार्यक्रम छ। देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे देउवा फर्कनेछन्।

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ। भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने एमालेले निम्तो नै दिएको छैन।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन। अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन्।एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ।

महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ। बन्दसत्र सौराहामा गरिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *