सर्वसम्मत अध्यक्ष बन्ने यी हुन ओलीका ३ विकल्प, महासचिव र उपाध्यक्षमा रोजे यी २ पात्र !

सर्वसम्मत अध्यक्ष बन्ने यी हुन ओलीका ३ विकल्प, महासचिव र उपाध्यक्षमा रोजे यी २ पात्र !

काठमान्डौ – एमाले नेताहरूले १०औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन्। तर, सहमतिमा अन्य पदाधिकारी को–को आउलान् रु १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ।

महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत गरे पनि खुलेका छैनन्। केही नेताले उपमहासचिव घनश्याम भुसाल अध्यक्षमा उठ्ने हुन कि भन्ने संकेत गरेका छन्। तर, उनी पनि यसबारे बोलेका छैनन्। अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन्।

महासचिव ईश्वर पोखरेल १०औं महाधिवेशनबाट ओली नै अध्यक्ष हुने बताउँछन्। ‘यो महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ भन्ने मलाई लाग्छ’, पोखरेल भन्छन्, ‘यो अहिलेको पार्टीको आवश्यकता पनि हो। अझ देशकै आवश्यकता हो।’ अरू पदमा भने सरसल्लाह र समझदारीले नै टुंगो लगाइने उनी बताउँछन्।

यस्तै संसदीय दलका उपनेता सुवास नेम्बाङ यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन लागिपरेको बताउँछन्। भन्छन्, ‘सर्वसम्मति पनि लोकतन्त्रको ब्युटी हो। यसले पार्टीलाई एकढिक्का बनाउँछ। केन्द्रीय कमिटीसम्मै सर्वसम्मत गर्ने प्रयास हो।’ चुनौती र अप्ठ्यारा भए पनि सहमतिमा नेतृत्व चयन गर्न सकिने नेम्बाङको विश्वास छ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य समझदारी र सहमतिमा नेतृत्व चयन हुने बताउँछिन्। ‘अस्वस्थ प्रतिस्पर्धाले पार्टीमा अन्तरविरोध सिर्जना गर्छ’, उपाध्यक्ष शाक्य भन्छिन्, ‘सहमति पनि लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा नै हो। यसले पार्टीलाई एकजुट बनाउँछ।’

एमालेले वडा, पालिकाका अधिवेशन पनि सहमतिमा गर्‍यो। अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि पनि सहमतिमै चयन गर्‍यो। अब सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्ने उसको तयारी छ। अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत नेताले सहमतिमै नेतृत्व चयन हुने बताइसकेका छन्।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एकढिक्का रहेको सन्देश दिन खोजेको छ। नवौंं महाधिवेशनमा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्यानल बनाएर चुनाव लडेका थिए। मतपत्रमा पनि प्यानलअनुसार उम्मेदवारको सूची बनाइएको थियो।

महासचिवमा तीन आकांक्षी
अध्यक्षपछिको कार्यकारी पद महासचिव हो। कम्युनिस्ट पार्टीमा त महासचिव पदको थप महत्व पनि हुन्छ। विगतमा लामो समय महासचिव नै प्रमुख कार्यकारी पद थियो। एमाले छाडेका माधवकुमार नेपाल नै १५ वर्ष महासचिव बनेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीको हारपछि उनले महासचिव पदबाट राजीनामा दिएका थिए।

१०औं महाधिवेशनबाट महासचिवको जिम्मेवारी कसको काँधमा आउला भन्ने धेरैको चासो छ। महासचिव पोखरेलले आफू यो पदमा नदोहोर्‍याउने प्रष्ट गरिसकेका छन्। पोखरेल आठौं र नवौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए।

सहमतिमै पदाधिकारी चयन हुने भएकाले अध्यक्ष ओलीको ‘बढी रोजाइ’मा पर्नेले नै महासचिवको जिम्मेवारी पाउने नेताहरू बताउँछन्। अब यो जिम्मेवारी पाउनेलाई ओलीको उत्तराधिकारीका रूपमा पनि व्याख्या गर्न थालिएको छ। यो पदमा उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलको चर्चा छ। सचिव पृथ्वीसुब्बा गुरुङ र नवौं महाधिवेशनमा महासचिवमा थोरै मतले पराजित सुरेन्द्र पाण्डे पनि आकांक्षी रहेको निकटस्थ नेताहरू बताउँछन्।

पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपाका महासचिव थिए। उनी पार्टीका संगठन विभाग प्रमुख छन्। महासचिवमा उनको बलियो दाबेदारी देखिन्छ। ओलीका अर्का विश्वासपात्र पोखरेलको पनि बलियो सम्भावना रहेको नेताहरू बताउँछन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत भइसकेका पोखरेल जनताको बहुदलीय जनवादको व्याख्याताकै रूपमा चिनिन्छन्।

ओलीले विधान महाधिवेशनमा आफू बिसन्चो भएको भन्दै पोखरेललाई नै राजनीतिक प्रतिवेदन वाचन गर्न लगाएका थिए। ‘ओलीले दुवै नेतालाई पदाधिकारीमा व्यवस्थापन गर्नै पर्छ र गर्छन् पनि’, एक स्थायी समिति सदस्य भन्छन्। पौडेल महासचिव भए पोखरेल उपमहासचिव हुन सक्छन्। पोखरेल महासचिव भए पौडेल उपाध्यक्ष बनाउनुपर्ने अवस्थामा ओली छन्।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र सचिव पृथ्वीसुब्बा गुरुङ पनि महासचिवको लाइनमा छन्। यी दुवै नेतालाई पदाधिकारीमा आवश्यक रहेको महसुस अध्यक्ष ओलीले गरेको उनीनिकट एक नेता बताउँछन्। गुरुङलाई सचिवमै दोहोर्‍याउन खोजे उनले उपाध्यक्षको दाबी गर्न सक्ने नेताहरू बताउँछन्। उनीहरूका अनुसार पाण्डेलाई पनि उपाध्यक्ष बनाउन सक्ने सम्भावना छ।

उपाध्यक्षमा रोजे यी २ पात्र

विधानमा चार उपाध्यक्षको व्यवस्था छ। तर, तीन उपाध्यक्ष पार्टीमै क्रियाशील छन्। रावलसहित अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन्। ज्ञवालीलाई अनुशासन आयोग वा अन्य कुनैमा व्यवस्थापन गर्ने तयारी रहे पनि रावल र शाक्यको व्यवस्थापन कसरी होला भन्ने चासो छ।

शीर्ष तहमा महिला एक जना मात्रै देखिएकाले शाक्य उपाध्यक्ष हुने निश्चितप्रायः रहेको नेताहरू बताउँछन्। तर, रावललाई उपाध्यक्षमा समेटेर लिने वा नलिने भन्ने अध्यक्ष ओलीमै भर पर्नेछ। १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै पछिल्ला दिन रावल ओलीसँग असन्तुष्ट देखिएका छन्। रामबहादुर थापा र सुवासचन्द्र नेम्बाङलाई पनि उपाध्यक्ष बनाउने चर्चा छ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित लालबाबु पण्डित पनि उपाध्यक्ष पदका आकांक्षी देखिएका छन्। ‘नवौँ महाधिवेशनमै उपाध्यक्ष उठेर थोरै मत नपुगेको हो’, नेता पण्डितले भने, ‘मेरो प्राथमिकता उपाध्यक्षमै हुन्छ। सरसल्लाह पनि गर्दै छु। सहमति भए त्यहीअनुसार हुन्छ। जे भए पनि पदाधिकारीमा उठ्नेछु।’

केन्द्रीय सदस्य निरज आचार्य पार्टी घेराबन्दीमा रहेका बेला सर्वसम्मत नेतृत्व चयन गर्नु राम्रो हुने बताउँछन्। ‘तर, यो पक्षपातरहित हुनुपर्छ’, नेता आचार्य भन्छन्, ‘सर्वसम्मतिका नाममा हिजोको खेमा, जन्मकुण्डली हेरेर गरियो भन्ने त्यो आघात हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *