देउवाको चुनौती संगै ज्ञानेन्द्रले सुरु गरे यस्तो अभियान, राजा फर्काउन यसरी हुदै छ विश्वासपात्रको खोजी !

देउवाको चुनौती संगै ज्ञानेन्द्रले सुरु गरे यस्तो अभियान, राजा फर्काउन यसरी हुदै छ विश्वासपात्रको खोजी !

काठमान्डौ – २४ कात्तिकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिए । गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा देउवाले शाह प्रजातन्त्रका विरुद्ध सक्रिय भएको आरोप लगाउँदै चुनाव लडेर शासन गर्न चुनौति दिएका थिए ।

२०६२–६३ को जनआन्दोलनको बलमा राजतन्त्र पतन भएपछि पनि फेरि सत्तामा आउन पूर्वराजाले ‘षड्यन्त्र’ गरिरहेको भन्दै बेलाबेलामा गणतन्त्रका पक्षधर नेताहरुले कटाक्ष गर्दै आएका छन् भने सोही कटाक्षको पछिल्लो श्रृङ्खला थियो, देउवाको पूर्वराजामाथिको आक्रोश ।

पूर्वराजाले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुखको अनुभूति गर्न नपाएको गुनासोसहित पटक पटक आक्रोश पोख्दै आएका छन् । विभिन्न अवसरमा दिइने सन्देशमा होस् या कार्यक्रमहरुमा नै किन नहोस् पूर्वराजामा राजनीतिक दल र व्यवस्थाप्रतिको वितृष्णा देखिन्छ ।

तर, पूर्वराजाले पूजापाठको नाममा देश दौडाहाबाहेक प्रत्यक्षरुपमा आफ्नो सशक्त अभियान अघि बढाउन सकेका छैनन् । बरु उनले विभिन्न हिन्दुवादी संघसंस्थामार्फत अप्रत्यक्षरुपमा अभियान सञ्चालन गर्दै आएका छन् भने हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा बोकेका दलहरुप्रति पनि उनको आशा छ । दोस्रो जनआन्दोलनलगत्तै हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको सशक्त एजेण्डा बोकेको पार्टी राप्रपा त्यसैमध्येका एक हो ।

महाधिवेशनको मुखमा रहेको राप्रपा नेतृत्वको दाउपेचमा लागिरहेका बेला पूर्वराजाको सो पार्टी र नेतृत्वलाई हेर्ने दृष्टिकोण कस्तो रहला भन्ने प्रश्न सतहमा आएको छ । तर, यसमा पूर्वराजाको प्रत्यक्ष सहभागिता भने यसमा रहने कुरा होइन ।

कात्तिक २४ मा प्रधानमन्त्री अभिव्यक्ति आएसँगै सबैभन्दा पहिला देउवालाई काउन्टर दिँदै आलोचना गर्ने पात्र थिए, राप्रपा अध्यक्ष कमल थापा । महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने रणनीतिका साथ अघि बढेका थापाले सामाजिक सञ्जालमार्फत राजाविरुद्ध आक्रोश नभइ सुशासन दिन देउवालाई सुझाव दिए ।

राप्रपाका नेताहरु कमल थापाको यो अभिव्यक्तिलाई चुनावसँग जोडेर हेर्छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देशभरका कार्यकर्तालाई कमल थापा एजेण्डाको हिसावले दृढ छन् र राजाले आफूलाई विश्वास गर्छन् भन्ने देखाउन उनले देउवाप्रति कटाक्ष गरेको बुझाइ एक शीर्ष नेताको छ ।

नाम उल्लेख नगर्न आग्रह गर्दै पूर्वपदाधिकारी ती नेताले भने, ‘कमल थापाको राजासँग राम्रो छैन, थापाले राजतन्त्र भजाएर गणतन्त्रवादीसँग मिलेर सत्ता साटेको गुनासो राजाको छ । विगतमा पटक पटक सत्तामा जानुको औचित्य अहिलेसम्म थापाले प्रष्ट पार्न सकेका छैनन् ।’

थापाको यही प्रवृत्तिलाई आइतबार झापाको भएको कार्यक्रममा महाधिवेशनबाट अध्यक्षका आकांक्षी रहेका नेता राजेन्द्र लिङदेनले पनि संकेत गरेका छन् । हिन्दु र राजा मान्ने जमात पार्टी भन्दा बाहिर किन रहन पुगेको भन्ने प्रश्न उठाउँदै उनले यस हुनुमा नेतृत्व नै दोषी रहेको सन्देश दिन खोजे ।

थापा नै सहभागी भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का संघीय सांसद समेत रहेका लिङदेनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको पनि बताए । शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै उनले कार्यक्रममार्फत असन्तुष्टि समेत पोखेका थिए ।

थापा मात्रै होइन, अध्यक्षका प्रत्यासी रहेका डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र लिङ्देनसँगै धवल शमशेर राणासमेत आफूलाई राजावादीको कित्तामा दरिलो देखाउन तँछाडमछाड देखिन्छन् ।

पुराना पुस्ताबाट कमल थापासँगै डा लोहनीले नेतृत्वमा आफ्नो आन्तरिक तयारी तीव्र पारेका छन् । उता अर्का अध्यक्ष पशुपति शमशेर राणाले पनि राजेन्द्र लिङ्देन र कमल थापा दुई जना उम्मेदवार भएको अवस्थामा पुरानो राप्रपा नेपालको मत विभाजन हुने र लोहनीलाई मिलाएर आफू नेतृत्वमा आउँछु भन्ने रणनीतिमा देखिन्छन् ।

राप्रपामा राजाको सद्भाव आफूमा रहेको विश्वास समेत लोहनीमा छ । राप्रपाका अन्य नेता कार्यकर्ता पनि राजाले खुलेर कसैको पक्ष नलिए पनि बढी सद्भाव लोहनीमै रहेको बताउँछन् । राप्रपाका अरु दुई अध्यक्षको तुलनामा लोहनी र पूर्वराजाबीच बाक्लो संवाद हुने गरेको लोहनीलाई नजिक बुझ्नेहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *