एमालेलाई समाप्त गर्ने प्रचण्डको सपना भत्किएपछि…

एमालेलाई समाप्त गर्ने प्रचण्डको सपना भत्किएपछि…

नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको चुनाव चिन्ह रुखबाट झारेर नाङ्गै बनाइदिने बताएका छन्।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कमिटीले बुधबार गरेको शुभकामना कार्यक्रममा बोल्दै सचिव विष्टले प्रचण्डको इतिहास नै जहाँ छोयो त्यसलाई सक्ने भएको बताए।

प्रचण्डले विगतमा एमालेको बैसाखी टेकेर राजनीतिक बिँडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारी आफूले हालीमुहाली गर्ने सपना भत्किएपछि अहिले कांग्रेसको टाङमुनि छिरेको आरोप पनि लगाए।

‘राजनीतिक अस्थिरताका खेलाडी प्रचण्डको इतिहास नै जहाँ छोयो त्यही समाप्त पार्ने मात्रै हो। मुलुकमा राजनीतिक स्थिरता ल्याउने होइन, आफ्नो स्वार्थको लागि सती जाने पहिचान प्रचण्डको छ’, उनले भने, ‘विगतमा एमालेको बैसाखी टेकी आफ्नो राजनीतिक भविष्य थामे। प्रचण्ड अनेक बहाना र फुटको मानसिकता बोकी-बोकाई एमाले सक्ने रणनीतिमा थिए।’

उनले एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि प्रचण्डले गठबन्धनको नाममा राजनीति गरिरहेको पनि बताए। ‘यो गठबन्धन यही अवस्थामा रह्यो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिन्छन्’, उनले भने, ‘त्यसपछि पातबिनाको नाङ्गो रुख कांग्रेस बन्ने निश्चित छ।’

अबको दुई दशक मुलुकमा एमालेको दशक भएको उल्लेख गर्दै उनले एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि पार्टी नभएको दाबी गरे।’अबको दुई दशक एमालेलाई कसैले आँखा नलगाए हुन्छ। आगामी निर्वाचनमा एमालेले एक्लै बहुमतका साथ मुलुकको नेतृत्व गर्छ’, उनले भने।

माधव नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरिएर समाजवादी गठन गरे पनि जनतामा फुटको असर नभएको उनले बताए।

आगामी महाधिवेशनले गुटरहित एमाले निर्माण गर्ने समेत उनले बताए। एमालेको सरकारका पालामा भएका काम देखेर गठबन्धनका नेताहरु सपनामा समेत बर्बराउने गरेको आरोप समेत उनले लगाए।

एमाले र केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरु गरेको उल्लेख गर्दै उनले त्यसको उदाहरणका लागि भक्तपुर हेरे पुग्ने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *