एमालेका प्रमुख नेताहरु कति सुरक्षित, जित्लान त आउँदो निर्वाचन, यस्तो छ अवस्था

एमालेका प्रमुख नेताहरु कति सुरक्षित, जित्लान त आउँदो निर्वाचन, यस्तो छ अवस्था

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनका प्रमुख नेताहरुलाई आउँदो निर्वाचनमा जितेर देखाउन भन्दै दिनदिनै चुनौती दिदै आएका छन् ।

ओली मात्र होइन एमालेका अधिकांश प्रमुख नेताहरु अथवा एमाले स्थायी कमिटीका नेताहरु गठबन्धनका नेताहरुलाई निर्वाचन जित्न चुनौती दिन थालेका छन् । अझ ओलीको प्रमुख निशानामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा हुन् ।

ओलीले आँफु सरकारबाट हटेपछि चुनाव जितेर सरकारको नेतृत्व गर्ने भन्दै आएका छन् । ओलीको बोलीमा बोली मिलाउनेमा एमालेका अधिकांश पदाधिकारी पर्छन् । एमालेलाई लागेको छ सरकारबाट हटेपछि आफू बहुमत ल्याएर पुन सरकारको नेतृत्व गर्ने छौ । एमाले नेताहरु दैनिक जसो आउदो निर्वाचनबाट सरकारको नेतृत्व गर्ने भनि सार्वजनिक भाषणमा भन्न छुटाउदैनन् ।

एमालेमा एक तप्कालाई लागेको छ २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचन ओलीको नाममा दुई तिहाइ बहुमत आएको हो र त्यो जनमत अहिले पनि कहिं न कहिं एमाले र सूर्च चिन्हको नाममा आफै संग छ । त्यहि भएर उसका नेताहरु सरकारको नेतृत्व गर्ने सपना अहिले पनि नेता कार्यकतालाई बांडिरहेका छन् ।

एमालेका नेताहरुले ०७४ सालको चुनावमा देशभरी माओवादीले पनि आँफूलाई र आँफूले माओवादीलाई भोट दिएको कुरा सम्झन चाहदैनन् । जब कि देशभरी माओवादीले ४० प्रतिशत मत आफ्नो पार्टीका उम्मेदवारलाई र ६० प्रतिशत मत एमालेका उम्मेदवारलाई हालेका थिए ।

ओली र उनको पार्टीका नेताहरु अहिले सबै मत आफ्नो कारण आएको बताइरहेका छन् । अझ पछिल्लो समयमा एमालेको नेतृत्वमा बनेका प्रदेश सरकार पनि ढलेका छन् । संघीय सरकार असारमा नै ढलेको थियो । सरकारबाट बाहिरीएको एमाले अहिले आफ्नो कारणले भन्दा पनि गठबन्धनका कारण सरकारबाट हट्नु परेको बताउँछ ।

आफूहरु जनमतबाट आएको र गठबन्धनको सरकार परमादेशबाट आएको भन्दै आएको छ, एमाले । एमालेले नै अझ केपी शर्मा ओलीले आफुलाई जनादेशबाट आएको भनिरहदा त्यहि जनादेश भएको संसद दुई पटक विघटन गरेको हो । गठबन्धनले सर्वोच्चमा मुद्दा हालेर जितेर दुबै पटक संसद ब्युताएको हो । ओलीले त गत ५ पुसमा नै संसदको घाँटी निमोठेका थिए ।

एमाले ९–भदौमा विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको छ । उक्त पार्टीको नेतृत्व माधवकुमार नेपालले गरेका छन् । जसले एमालेको नेतृत्व करिब १५ बर्ष गरेका थिए । अहिले तिनै नेपालले आफ्नो नेतृत्वमा एमाले विभाजन गरेर पार्टी बनाएका छन् ।

तर पनि ६० प्रतिशत माओवादीको मत पाएर जितेको एमाले एक्लै निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने हाँक दिइरहेको छ भने अर्को तर्फ पाँच दलिय गठबन्धन पनि निर्वाचनसम्म मिलेर जाने भनिरहेको छ । यस्तो अवस्थामा एमालेका पदाधिकारीहरुको निर्वाचनको अवस्था कस्तो छ ? ०७४ सालको निर्वाचनमा माओवादी एमाले गठबन्धन र ओलीको क्षेत्रमा त राप्रपा सहितको गठबन्धन थियो । अहिले एमाले एक्लै निर्वाचन लड्दा कति सुरक्षित र कति भोट पाउने छन् ।

२०७४ सालमा भएको संघीय संसदको निर्वाचनमा केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर जितेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । ओलीले अधिकारीको भन्दा २८ हजार ८४२ बढी ल्याएका थिए ।

०७४ मा ओलीले ल्याएको ५७ हजार १३९ भोट माओवादी र राप्रपाले पनि दिएको थियो । अहिले अवस्था उल्टिएको छ । एमाले विभाजन हुनु र ओलीले नै दुई पटक संसद विघटन गर्नुको असर निर्वाचनमा देखिने छ । सत्ता गठबन्धन निर्वाचनसम्म नै टिकेमा त्यसको असर ओलीलाई अवश्य पर्ने छ । अहिले गठबन्धन भन्दा बलिया देखिएका ओलीलाई निर्वाचनमा सहज भने हुने देखिदैन ।

महासचिव ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ बाट २३ हजार २९ मत ल्याएका थिए । नेपाली कांग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याएका थिए । पोखरेलले पाएको मतमा माओवादीकोे पनि मत छ । काठमाडौंमा माओवादी कमजोर भएपनि एमाले महासचिव पोखरेललाई चुनाव भने त्यति सहज छैन । अझ पोखरेलले एमाले गठबन्धन भन्दा पहिला निर्वाचनमा पराजय मात्र भोग्दै आएका थिए ।

गठबन्धन बनेपछि उनले जितेका हुन । उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. ३ बाट ३२ हजार ८६६ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का दिपक बोहराले २७ हजार ४२२ मत ल्याएका छन् । जब कि भुसालले माओवादीका मत पनि पाएर विजयी भएका हुन । माओवादीसंगको सहकार्य सकिएपछि भुुसाल एक्लै जित्ने अवस्था रहदैन । नेकपा एकीकृत समाजवादीको पनि रुपन्देहीमा राम्रो पकड मानिन्छ ।

विष्णु प्रसाद पौडेलले ४४ हजार ९ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका छन् । उनले दोब्बर मतले जितेका छन् । तर माओवादी र एकीकृत समाजवादीले अब उनलाई मत नदिदा धेरै असर पर्ने देखिन्छ । एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्र नं १ बाट २९ हजार ४७९ मत ल्याएका थिए ।

कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए । भट्टराई अहिले एमालेमा छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले पनि भोट दिएको थियो । तर अहिले माओवादी केन्द्रमात्र अलग भएको छ । अझ थप एमाले विभाजन भएर अर्को पार्टी बनेको छ । उनको अवस्था अब एक्लै चुनाव जित्ने देखिदैन ।

सुरेन्द्र पाण्डे एमालेको स्थायी कमिटी सदस्य हुन । उनको निर्वाचन क्षेत्र चितवन हो । उनले ०७४ सालमा संघीय सांसदमा ५१ हजार ८० मत ल्याएर विजयी भएका थिए । उनी पनि एमालेबाट टिकट पाएर गठबन्धनको साझा उम्मेदवार थिए । उनलाई विजय गराउन माओवादीले पनि चितवन १ नं क्षेत्रमा भोट दिएका थिए । दुबै पार्टीको भोट मिलाएर उनले ५१ हजार ८० मत ल्याएका हुन । तर अहिले माओवादी छुट्टै निर्वाचन लड्ने छ भने उनको एमाले पार्टी विभाजन भएको छ । अझ उनका आफ्नै दाई पनि नेकपा एकीकृत समाजवादीमा छन् । उनीसंग पराजित हुने नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । अहिले माओवादी ,एकीकृत समाजवादी र कांग्रेस मिलेमा उनलाई चुनाव जित्न सहज छैन ।

भीम रावल एमालेका उपाध्यक्ष हुन । उनी अहिले पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीको विरोधी छन् । उनले गठबन्धन हुँदा ०७४ सालमा अछामबाट २४ हजार ८९३ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत ल्याएका छन् । अछाम क्षेत्र नम्बर १ बाट सांसद रावलले जितेका थिए भने दुइबाट यज्ञबहादुर बोगटीले जितेका थिए । अछाममा माओवादी केन्द्रको समानुपातिक मत १० हजार ६९१ आएको छ । अब रावलको मत संख्यामा यो माओवादीको मत संख्या घट्दा १४ हजार २ सयको हाराहारीमा रहन्छ । एमाले विभाजन भएको छ । अझ अछाममा जिल्ला स्तरका नेताहरु सबै नेकपा एकीकृत समाजवादीमा छन् । रावल जिल्लामा पनि अल्पमतमा परेका छन् । उनी निकट सबै नेताहरु नेकपा एसमा लागेपछि उनलाई निर्वाचन जित्न फलामको चिउरा चपाउनु जस्तै हुने छ ।

प्रदिप ज्ञवाली गुल्मीको क्षेत्र नं. १ बाट ३७ हजार ८१४ मत ल्याएका थिए । कांग्रेसबाट चन्द्रकान्त भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए । सात हजार मत बढी ल्याएका ज्ञवालीलाई माओवादीले पनि मत दिएका थिए । तर अहिले माओवादी त के उनको आफ्नै दल एमाले पनि विभाजन भएको छ । उनलाई पनि निर्वाचनमा सहज छैन । ओलीले र अन्य नेताहरुले दिनै पिच्छे अरु दलका नेताहरुलाई चुनाव जितेर देखाउने दिने चुनौती उनीहरुका लागि झनै पेचिलो बन्ने छ । जुन कुरा एमाले नेताहरुले बुझेर पनि बुझ पचाएर बोलिरहेका देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *