विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ -नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ले नेपाल बन्दको घोषणा गरेको हो ।

यस प्रकारको अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन भन्दै पार्टीले नेपाल बन्दसंगै देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ ।

पार्टीले विहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायलाई अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग माग गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन कात्तिक, २६ गते प्रचार / प्रसार र साँझ मशाल जुलुस कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घन्टा कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्का जाम कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरूको घोषणा गरेका हुन्।

बुधबार मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसावले मूल्य बृद्धि गरेको छ । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३६ मा बिक्रि गरिएको छ ।

विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा विक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ भन्दै पार्टी निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ।

‘दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिव २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ ।

यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *