२२ सिटमा उपनिर्वाचन : कांग्रेसलाई चिठ्ठा, एमालेको परीक्षा

२२ सिटमा उपनिर्वाचन : कांग्रेसलाई चिठ्ठा, एमालेको परीक्षा

निर्वाचन आयोगले सरकारलाई स्थानीय तह र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न आग्रह गरेसँगै सत्तारुढ दलहरुले गठबन्धनलाई निरन्तरता दिने मनस्थिति बनाएका छन्।

आयोगले निर्वाचन र उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको दुई सातापछि कात्तिक २२ मा बसेको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रतिनिधि सभामा ४ र प्रदेश सभामा १८ सिट रिक्त छन्।

बैठकले राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनका लागि तालमेलको सहजीकरणका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र नै गठन गरेको छ। संयन्त्रलाई चुनावी तालमेलसँगै सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने जिम्मेवारी समेत बैठकले दिएको छ।

तर, गठबन्धनका दलहरुबीच आगामी उपनिर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भइसकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक केन्द्रीय सदस्यले आगामी उपनिर्वाचनमा गरिने तालमेलका बारेमा सत्तारुढ दलहरुबीच छलफल नै नभएको जानकारी दिए।

यद्यपि, उनले राष्ट्रिय सभा निर्वाचनमा भने गठबन्धन दलहरुबीच तालमेल हुने बताए। ‘नेपाली कांग्रेसको सिंगल स्ट्रेन्थले राष्ट्रिय सभामा जित्ने अवस्था छैन,’ उनले भने, ‘दलीय भागबण्डा, गठबन्धनको मर्म र भावनाअनुसार तालमेल हुन्छ।’

सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले पनि आगामी उपनिर्वाचनमा गरिने भागबण्डाका बारेमा सत्तारुढ दलहरुबीच छलफल नभएको जनाएको छ। ‘समन्वय समिति संविधानको रक्षा र कार्यान्वयनका लागि हो। अहिले पनि प्रतिगमनको खतरा कायम हुनाले गठबन्धनको औचित्य छ। त्यसैलाई औपचारिकता दिन यो बनाइएको हो,’ कांग्रेसका एक नेताले भने, ‘यो गठबन्धन राष्ट्रिय सभाको चुनाव र उपचुनावसम्म लैजाने सझदारी भएको छ। कसरी जाने भन्नेबारे छलफल हुन बाँकी छ।’

सत्तारुढ दलहरुले गठबन्धन गर्ने भएपछि उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको शक्ति जाँच हुने देखिन्छ। प्रतिनिधि सभाका चारवटै सिटमा यसअघि माओवादीबाट विजयी सांसदहरु अहिले एमालेमा छन्। उपनिर्वाचनमा एमालेले उनीहरुलाई नै प्रतिस्पर्धामा उतार्ने निश्चितप्रायः छ। गठबन्धन कायम रहे चारै निर्वाचन क्षेत्रमा एमाले हार्ने सम्भावना देखिन्छ।

आगामी उपनिर्वाचन कांग्रेसका लागि चिठ्ठा जस्तै देखिन्छ। उपनिर्वाचन हुने प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसले एउटा सिट पनि गुमाउनुपर्ने देखिँदैन। किनकि उपनिर्वाचन हुन लागेका प्रतिनिधि सभाका ४ र प्रदेश सभाका २२ सिटमध्ये कांग्रेसले कुनै पनि सिट जितेको थिएन।

प्रतिनिधि सभा उपनिर्वाचन हुने स्थान
प्रतिनिधि सभा सदस्य चयनका लागि निर्वाचन आयोगले कैलाली–३, कैलाली–४, रौतहट–४ र अर्घाखाँचीमा उपनिर्वाचनको तयारी गरिरहेको छ। यी चार वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेताहरु विजयी भएका थिए। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन सत्तारुढ नेकपा नामक दल विघटन गरेर नेकपा एमाले र माओवादी ब्युँताइदिएपछि विजयी उम्मेदवारहरुले पुरानो दल त्यागेका थिए।

माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेमा कैलाली–३ का गौरीशंकर चौधरी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–४ का प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *