भन्सारका सुब्बा कुट्ने पर्यटन बोर्डका सीईयोलाई मन्त्रालय डाकियो

भन्सारका सुब्बा कुट्ने पर्यटन बोर्डका सीईयोलाई मन्त्रालय डाकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकिएको छ ।

सीईओ रेग्मीले कर्मचारीलाई कुटपिट गरेको समाचार बाहिरिएपछि उनीमाथि सोधपुछका लागि मन्त्रालय डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ ।

शनिबार ९ बजे सीईओ रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए ।

ड्युटीमा खटिएका कर्मचारी थापाले सोधखोज गर्न खोजेपछि सीईओ उनीप्रति आक्रामक बनेका थिए । रेग्मीले थापालाई झापड समेत हानेपछि कर्मचारीहरु सबै उनलाई रोक्न पुगेका थिए । उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए ।

कर्मचारीमाथि भएको हातपातको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख महेश भट्टराईसम्म पुगेको थियो । भट्टराईले यो घटना भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई ब्रिफ्रिङ गरेका थिए ।

ब्रिफ्रिङपछि जतिसुकै ठूलो मान्छे भए पनि भन्सार ऐन अनुसार कारवाही गर्ने निर्णय भएको थियो । भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटरसम्म मदिरा ल्याउने ब्यवस्था छ । ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

कर्मचारीलाई दुर्व्यवहार गरेकोले रेग्मीलाई ५ हजार जरिवाना गरिएको हो । रेग्मीको स्वास्थ्य जाँच समेत गराइएको थियो । मापासे परीक्षण गर्दा रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले कर्मचारीमाथि दुर्व्यवहार गरिएको ठहरिएमा रेग्मीमाथि कारबाही हुने बताएका छन् । ‘उहाँलाई सोधपुछका लागि मन्त्रालय बोलाईएको छ । गल्ती देखिए जो कोही भए पनि कारबाही हुन्छ,’ मन्त्री आलेले भने ।
रेग्मी लन्डनमा गत सोमवारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्केका हुन् । मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए । फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए । रेग्मी भने सामान्य यात्रु बाहिरिने ठाउँबाट जाँचपासका लागि पुगेका थिए ।

रेग्मीले यस घटनामा आफुमाथि फसाउने सडयन्त्र भएको बताएका छन् । ‘विमानस्थलमा अस्तव्यस्त रहेको विषयका आफूले पटक–पटक कुरा उठाएकोले फसाउने प्रयास भएको छ । विमानस्थलको शौचालयदेखि सबैतिर अस्तव्यस्त छ । जनताको विषयलाई उठाएकाले मलाई फसाउन खोजिएको हो,’ सीईओ रेग्मीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *