अब सेना चुप बस्दैन भन्दै प्रधानसेनापति शर्माले दिए यस्तो चेतावनी

अब सेना चुप बस्दैन भन्दै प्रधानसेनापति शर्माले दिए यस्तो चेतावनी

हेटौंडा – प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको अस्मितामा कसैले धावा बोले सेना चुप लागेर नबस्‍ने बताएका छन् । मकवानपुरमा रहेको जस्ताे गढी त्यस्तो धावा बोल्नेहरूलाई तह लगाउन उपयोगमा आउने पनि उनले बताए । मकवानपुर एउटा सामारिक स्थान भएकाले यसकाे महत्व सुरक्षाको दृष्टिकोणमा सधै उपयाेगि रहने छ ।

बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए । आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे ।

महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे । ‘यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो,’ शर्माले भने ।

नेपालको अन्य गढी, किल्ला, गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ । प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक, आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन विदेशीहरुलाई लगाउन बनाइएको गढ, किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ ।

‘मल्ल राजा, शाहवंश, राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्य/अवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय, अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो ।’ शर्माले भने ।

मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनको भनाई थियो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको अग्रसरतामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशतको लागतमा चिसापानी गढीको संरक्षणको कार्य अघि बढेको छ ।

४ करोड ९७ लाखमा निर्माण कम्पनि माउन्टेन-गोले जेभीसँग ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनिले २०८० साल असार १२ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । चिसापानी गढीको कारागार भग्नावशेष अवस्थामा छ ।

इनार पुरिएको, तोपको गोला हराउनु जस्ता समस्याहरु रहेको अध्यक्ष लामाले बताए । उनले यसको संरक्षण नहुँदा पहिचान नै मेटिने अवस्थामा पुगेको भन्दै संरक्षण गर्न लागिएको बताए । चिसापानी गढीमा गार्ड हाउस, टिकेट घर, कम्पाउण्ड वाललगायतको संरक्षण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *