नेपालमा एमसीसीको विरोध भइरहेका बेला देउवाले बेलायतमा भेटे डेपुटी सीईओ

नेपालमा एमसीसीको विरोध भइरहेका बेला देउवाले बेलायतमा भेटे डेपुटी सीईओ

काठमाडौं कात्तिक १८ अमेरिकी नियोग सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपालमा तीब्र विरोध भइरहेका बेला यसकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बैलायतमै भेटघाट गरेकी छिन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँग एमसीसीका डेपुटी सीईओ लतोर्तुले शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘भेटमा एमसीसी कम्प्याक्टसँग सम्बन्धित विषयमा छलफल भयो,’ ।

वासिङ्टनस्थित एमसीसी मुख्यालयले गत बिहीबार विज्ञप्ति निकालेर नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदन नभए ५० करोड अमेरिकी डलरको अनुदान सहायता नेपालले गुमाउनसक्ने चेतावनी दिएको थियो ।

एमसीसी सम्झौताको भविष्यबारे के गर्ने भन्ने कुरा अब नेपालको हातमा रहेको भन्दै उक्त सम्झौतामा कुनै संशोधन हुन नसक्ने मुख्यालयले बताएको थियो ।

एमसीसी अघि बढाउनेबारे सत्तारुढ दलभित्रै मतभेद छ भने प्रमुख प्रतिपक्षी एमालेले पनि त्यसबारे सकारात्मक प्रतिक्रिया दिएको छैन । सत्तासाझेदार कांग्रेस र जनता समाजवादी पार्टी एमसीसीसंसदबाट अनुमोदन गर्ने पक्षमा छन् ।

तर, सत्ताका दुई प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीबारे फरक मत राखेका छन् । एमसीसी सम्झौता संशोधन गरेर मात्रै संसदबाट पास गर्नुपर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *