हिजो मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेको नालीबेली बाहिरियो

हिजो मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेको नालीबेली बाहिरियो

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई दुई महिना अघिसम्म पनि आफू बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने अपेक्षा थिएन होला । किनभने गत निर्वाचनकै बेला निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका रुपमा एमालेले प्रस्ताव गरेको थियो । एमालेले मुख्यमन्त्री पाउँदा वरिष्ठताको हिसाबले पनि शाक्यले नै सरकारको नेतृत्व गर्ने आम अनुमान थियो ।

निर्वाचन परिणामले वाम गठवन्धनलाई बाग्मतीमा एकल बहुमतको सरकार बनाउने हैसियतमा पनि पुर्यायो । तर, एमालेभित्रकै अन्तरकलहले मुख्यमन्त्री बन्ने शाक्यको बाटोमा तगारो हाल्यो । शाक्यका विरुद्ध एमालेको संस्थापन पक्षले डोरमणि पौडेल खडा गर्यो । त्यतिबेला शाक्यका पक्षमा अन्तिमसम्म लड्ने धेरै पात्रमध्येको एक मुख्यमन्त्री पाण्डे पनि हो ।

तर, अहिले राजनीतिक परिस्थितिमा यति ठूलो फेरबदल आयो कि उनै शाक्यका विरुद्ध पाण्डे खडा हुनुपर्यो । नवौँ महाधिवेशनपछि एमालेमा बढेको अन्तरसंघर्षमा पाण्डे र शाक्य दुवै संस्थापनइतर खेमामा हुनुहुन्थ्यो । माओवादीसँग एकतापछि बनेको नेकपामा पनि दुवै नेता ओली विरोधी क्याम्पमा हुनुहुन्थ्यो ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काएपछि उहाँहरु माधव समूहको खम्बाका रुपमा अगाडि आउनुभयो । एमालेमा संस्थापन र माधव समूहबीचको संघर्ष उत्कर्षमा पुगेका बेला शाक्यले गुट परिवर्तन गरेर मुख्यमन्त्री सुनिश्चित गर्न लागेपछि उहाँहरु फरक कित्तामा पुग्नुभएको हो ।

गत भदौ २ गते माधव समूहले एमालेबाट विद्रोह गरेकै दिन शाक्य एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभयो। ठीक त्यतिबेला पाण्डे भने पार्टी दर्ताका लागि निर्वाचन आयोग धाइरहनु भएको थियो । यही बिन्दुबाट पाण्डेको सत्तायात्रा शुरु भएको हो । एमालेमा आएको विभाजन,शाक्यको गुट परिवर्तन र राष्ट्रिय राजनीतिको ध्रुवीकरणले पैदा गरेको परिस्थिति नै पाण्डेलाई सरकारको नेतृत्वमा पुर्याउने कारण बन्यो ।

राष्ट्रिय राजनीतिमा ओलीविरोधी गठवन्धन बनेको थियो । त्यसको स्वभाविक प्रभाव प्रदेश सरकारहरुमा पनि पर्यो । प्रदेशमा सरकारको भागबण्डा मिलाउँदा बाग्मती प्रदेश एकीकृत समाजवादीले पायो । पार्टीको संसदीय दलको नेता समेत रहनुभएका पाण्डे अन्ततः मुख्यमन्त्री बन्नुभयो । शाक्य एमालेमा नफर्किएको भए मुख्यमन्त्री उहाँ नै हुने कुरा निश्चितजस्तै थियो ।

पाण्डेले हिजो मुख्यमन्त्रीको शपथ लिएर कार्यभारसमेत सम्हालिसक्नु भएको छ । भ्रष्टाचारमुक्त बाग्मती प्रदेश आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभएको छ । पाण्डेले संक्रामक रोग नियन्त्रणमा सरकारले विशेष जोड दिने र अघिल्लो अल्पमतको सरकारले गरेका गलत निर्णयहरु सच्याउने समेत बताउनुभएको छ ।

मुख्यमन्त्रीका रुपमा पाण्डेको कार्यकाल कस्तो रहला त्यो भने भविष्यमा थाहा होला तर, उहाँको राजनीतिक इतिहास भने संघर्षपूर्ण छ । पाण्डेले निष्ठा, इमान र प्रतिवद्धतामा अडिग रहने राजनीतिज्ञको छवी बनाइसक्नु भएको छ । उनै पाण्डेको राजनीतिक इतिहास यहाँ चर्चा गरिएको छ ।

राजनीतिक पृष्ठभूमि: पाण्डे २०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट जन्मिनु भएको हो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट धादिङ क्षेत्र नम्बर–१ ‘क’ मा निर्वाचित हुनुभएका उहाँ अहिले एकीकृत समाजवादीको उपाध्यक्ष हुनुहुन्छ ।

ग्रामिण विकासमा स्नातकोत्तर गर्नुभएका पाण्डे २०२९ सालमा एसएलसी उत्तीर्ण गरी धादिङबाट काठमाडौ आउनुभएको थियो । २०३० साल असारमा सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशील विद्यार्थीहरुसँग उहाँको भेट भयो र त्यहिँबाट राजनीतिमा प्रवेश गर्नुभयो ।

२०३१ सालमा भारतले सिक्किमलाई गाभेपछि भएको आन्दोलन र २०३२ सालमा भएको झापा आन्दोलन नै उहाँको राजनीतिक करियरको पहिलो खुड्किलो बन्यो । यो दुई आन्दोलनमा ३ पटक गरी १ सय ५९ दिन जेलसमेत बस्नुपर्यो । २०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीको सदस्य तथा कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गर्नुभएका उहाँ २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाईजिङ कमिटीको सदस्य हुनुभएको थियो ।

२०३६ कात्तिकमा धादिङमा भएको प्रथम जिल्ला पार्टी सक्रिय दलको सचिवको जिम्मेवारी प्राप्त गर्नुभएका पाण्डे २०४२ साल पुसपछि २०४७ पुससम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्यको भूमिकामा रहनुभयो । २०४७ साल पुसपछि २०५२ सालसम्म नेकपा एमाले जिल्ला कमिटी धादिङको पार्टी सचिवको जिम्मेवारी सम्हाल्नुभएका पाण्डे २०५० वैशाख २० गते नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट अञ्चल सचिव बनेर २०५४ सम्म सो जिम्मेवारीमा रहनुभयो ।

२०५५ मंसिर ५ गते नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएका उहाँले २०६५ सालसम्म सो जिम्मेवारी सम्हाल्नु भयो । २०६५ सालदेखि २०७४ सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य र २०७४ सालदेखि तत्कालीन नेकपाको केन्द्रीय सदस्यका रुपमा पाण्डे क्रियाशील रहनुभयो । नेकपा विघटनसँगै उहाँ २०७८ भदौ ९ गतेसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०७८ भदौमा नेकपा एमाले विभाजनपछि भने उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध रहेर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

गिरफ्तारी र जेल जीवन: २०३१ सालमा सिक्किमलाई भारतमा गाभ्ने कार्य विरुद्धको आन्दोलनमा सहभागी रहनुभएका पाण्डेले २०३२ सालको विद्यार्थी आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्व गर्नुभयो । २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई उहाँ केन्द्रीय कारागारमा १४२ दिनसम्म ९दुई पटक गरी० हिरासतमा बस्नुभयो । पाण्डेले २०३४ सालभर भूमिगत जीवन विताउनुभयो । जेल बसेको अवधिमै कोअर्डिनेशन केन्द्रसँग सम्पर्कमा रहनुभएका उहाँ २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी हुनुभयो ।

२०३१ सालमा १७ दिन, २०३२ सालमा १४२ दिन, २०३३ सालमा १ वर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी हुँदा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना गरि सात पटक उहाँ जेलमा रहनुभयो । २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीति अन्तर्गत फागुन १७ गते भाषण गर्दा ३ वर्ष जेल र राजकामको मुद्दा खेपेर १४ महिनासम्म जेल जीवन विताउनु पर्यो ।

२०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरमा पुर्याउन सफल हुनुभएका पाण्डेले २०६० देखि २०६२र२०६३ सम्म निरंकुश राजतन्त्र तथा प्रतिगमन विरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिवका रुपमा काम गर्नुभयो ।

संसदीय र राजकीय जिम्मेवारी: २०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बन्नुभएका पाण्डे २०४४ साल वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभयो । २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट लगातार ३ पटक निर्वाचित हुनुभयो । २०५१ देखि २०५३ सालसम्म संसदीय दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभयो ।

पाण्डे २०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकास मन्त्री हुनुभयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित हुनुभएका उहाँ ०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ ‘क’ बाट जित्नुभयो । २०७४ साल भदौ २६ गतेदेखि भने पाण्डे एकीकृत समाजवादीको बाग्मती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा हुनुहुन्छ ।

प्ररायु संघ र शिक्षक संगठनको जन्मदाता: प्रजातान्त्रिक राष्ट्रिय यूवा संघको जन्मदाता मध्ये १ जना भई २०४८ र २०५० सालमा सम्पन्न २ वटा राष्ट्रिय सम्मेलनमा पाण्डेले भाग लिनुभयो । उहाँले तात्कालिन प्ररायु संघ केन्द्रीय कमिटिको सचिवको जिम्मेवारी पाउनुभएको थियो ।
उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको पनि जन्मदाता नै हुनुहुन्छ । २०३७ र २०४० सालमा सम्पन्न २ वटा राष्ट्रिय महाधिवेशनबाट धादिङ जिल्ला कार्यसमितिको २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । २०४९ साल माघ, २०५४ साल माघ, २०५९ साल फागुन र २०६५ साल फागुनमा सम्पन्न पार्टीको महाधिवेशनमा भाग लिई नेतृत्वमा रहेर उहाँले भूमिका निभाउनु भयो ।

विदेश भ्रमण: पाण्डेले २०५० सालमा संयुक्त राज्य अमेरिका भ्रमण गर्नुभयो । २०५३ सालमा चीन, २०५३ साल श्रावणमा इटली र जापान भ्रमण गर्नुभएका उहाँले २०५८ सालमा जर्मनी, स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो । २०५९ सालमा मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड, २०६२ सालमा भेनेजुयलाको भ्रमण गर्नुभयो । पाण्डेले २०६३ सालमा तान्जानिया, २०६६ सालमा ब्राजिल र चीन, २०६७ सालमा दक्षिण कोरिया, २०६९ सालमा अष्ट्रेलिया र २०७१ सालमा चीनको भ्रमण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *