एमाले र कांग्रेसका ८ जना ठूलै नेता समातिए !

एमाले र कांग्रेसका ८ जना ठूलै नेता समातिए !

तुलसीपुरबाट शुक्रबार दिउँसै नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । एमालेका नेता मानबहादुर रावत पक्राउ परेका हुन्।

तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जनाको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेल बताए।

‘पक्राउ पर्ने अन्यमा नेपाली कांग्रेसका नेता दीपु गिरी, सुरेन्द्र हमाललगायत छन्,’ एसपी काफ्लेले भने, ‘पक्राउ परेकामध्ये केही यसअघि पनि पटक÷पटक जुवाको खालबाट पक्राउ परी कारबाही भोगिसकेका व्यक्ति रहेको भन्ने खुलेको छ।’

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ। एमाले र कांग्रेसका नेताहरू नै जुवाको खालबाट पक्राउ परेपछि छोडिदिन भनेर तारन्तर नेताहरूले समेत फोन गरेर दबाब दिएको एक प्रहरी अधिकारीले बताए।

‘तारन्तार नेताका फोनहरू आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरूले छोड्न दबाब दिँदै नभए तत्काल सरूवा गरिदिने धम्की पनि दिन थालेका छन्।’

कानुन विपरीतका गतिविधिमा संलग्न हुनेहरूलाई छोडिदिन भनेर दबाब दिनु र प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न नदिएर बाधा उत्पन्न गर्नु गलत भएको ती प्रहरी अधिकारीले बताए। एसपी काफ्लेले भने आफूले कानुन कार्यान्वयनको सवालमा नियम अनुसार चल्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *