अष्टलक्ष्मीको मुख्यमन्त्री पद गुमेपछि ओलीले बोलाए स्थायी कमिटी बैठक

अष्टलक्ष्मीको मुख्यमन्त्री पद गुमेपछि ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडाै‌ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । विहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्मन्त्री पद गुमेपछि ओली तनावमा छन् ।

यस्तो अवस्थामा सत्तारुढ पार्टीसँग कसरी प्रस्तुत हुने, के गर्ने भन्ने बारेमा रणनीति तय गर्न ओलीले बैठक बोलाएका हुन् । बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा पनि हुने उनको भनाइ छ ।

एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ । वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ ।

तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दै छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने भएका छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस)का गरी कुल ५९ सांसद हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाइसकेका छन् । सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको छ । ‘नयाँ सरकार बनाउन प्रदेश प्रमुख समक्ष हामीले बहुमत सदस्यको हस्ताक्षर बुझाइसकेका छौं ।’ कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने ।

उनले अगाडि थपे-‘आजै दिउँसो ५ बजेभित्र नयाँ सरकारले शपथ ग्रहण गर्ने तयारी छ,’ भने । उनका अनुसार गठबन्धन दलहरुले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेको छ ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले सपथ लिने बुझिएको छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।

अल्पमतमा परिसकेको अवस्थामा मतविभाजन अगाडि मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी थिइन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी थिइन् ।

शिक्षकदेखि मुख्यमन्त्रीसम्म
प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् ।

२०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *