चीनले दिल खोलेर गर्यो नेपालको तारिफ, खायो नेपाललाई कहिल्यै एक्लो नछाड्ने कसम !

चीनले दिल खोलेर गर्यो नेपालको तारिफ, खायो नेपाललाई कहिल्यै एक्लो नछाड्ने कसम !

चीनले नेपालको दिल खोलेर प्रशंसा गरेको छ । चीनले संयुक्त राष्ट्रसंघमा आफ्नो पुनः बहालीका लागि नेपालले गरेको समर्थनको पुनः एकपटक स्मरण गरेको छ। मंगलबार नेपाली समकक्षी नारायण खड्कालाई टेलिफोन गरी चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले लगाएको यो गुन कहिल्यै बिर्सन नसक्ने भन्दै कृतज्ञता व्यक्त गरे।

नयाँ चीन स्थापनापछि यो वर्ष राष्ट्रसंघमा चिनियाँ उपस्थितिको पचासौं वार्षिकोत्सवका सन्दर्भमा मन्त्री वाङले भने, ‘नेपालले दिएको यो अमूल्य समर्थनलाई चीनले कहिल्यै बिर्सिने छैन।’

दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा चीन एउटा संस्थापक मुलुक थियो। तर सन् १९४९ मा जनगणतन्त्रको उदयपछि हटाइएको चीनले सन् १९७१ अक्टोबर २५ मा पुनः सदस्यता पाएको हो। चीनले यो वर्ष राष्ट्रसंघमा आफ्नो सदस्यताको पचासौं वार्षिकोत्सव मनाइरहँदा तत्कालीन समयमा समर्थन गर्ने मुलुकहरूमध्ये नेपाल पनि एक थियो।

टेलिफोन वार्तामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रसंघमा आफ्नो सिटको वैधानिक प्राप्तिको स्वर्ण महोत्सवका सन्दर्भमा नेपाललाई सक्दो सहयोगको वचन दिए। उनले साँचो अर्थमा बहुपक्षीयतावादको संरक्षण, अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको प्रतिरोध, एकपक्षीयतावाद तथा त्रासधम्कीको प्रतिवाद गर्न र दुवै मुलुक तथा क्षेत्रबीचको साझा हितका सवालमा नेपालसँग सहकार्य गर्न चाहेको उल्लेख गरे।

चीनले उपलब्ध गराएको वैश्विक विकास पहल अर्थात् ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ’ एउटा सार्वजनिक उत्पादन तथा सहकार्य मञ्चले विकासशील मुलुकहरूलाई सहयोग गर्ने मन्त्री वाङले बताए। वैश्विक विकास पहलको अवधारणा सेप्टेम्बर २१ तारिख चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रसंघको ७६औं महासभालाई बेइजिङबाट भिडियोमार्फत सम्बोधन गर्ने क्रममा अघि सारेको प्रस्ताव हो।

नेपाली समकक्षीसँग सीको यो अवधारणाबारे पहिलो पटक चर्चा गर्दै मन्त्री वाङले नेपालसँगको सम्बन्ध झनै प्रगाढ बनाउन चाहेको व्यक्त गरे। उनले भने, ‘विश्वव्यापी विकास पहलले नेपालजस्ता मुलुकहरूको विकास लक्ष्य पछ्याउनका लागि सहयोग गर्नेछ। चीनले यसमार्फत् नेपालसँगको सहकार्य अझै बलियो बनाउनेछ।’

गत वर्षदेखि कोरोना महामारीविरुद्ध लड्न नेपाल र चीनले हातमा हात मिलाएको स्मरण गर्दै मन्त्री वाङले थप भ्याक्सिन सहायताको घोषणा गरे। चीनको विकास अनुभव नेपालसँग बाँड्न इच्छुक रहेको बताउँदै मन्त्री वाङले उच्च गुणस्तरीय बीआरआईको निर्माणका साथ आर्थिक, सामाजिक विकासमा योगदान गर्ने चिनियाँ चाहना पनि सुनाए।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार मन्त्री वाङले नदी र हिमालले जोडिएका नेपाल र चीन साझा भाग्य भएका मुलुक हुनुका साथै दुवै मुलुकको आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको भावना अरु छिमेकी मुलुकहरूका लागि उदाहरण बनेको बताए। एक चीन नीतिप्रति नेपालको अडानको सम्मान गर्दै चीनले पनि नेपालको भौगोलिक अक्षुण्णता, स्वतन्त्रता, नेपालको चासोको सम्मान गर्ने कुरा मन्त्री वाङ यीले दोहो¥याए।

परराष्ट्रमन्त्री नारायण खड्काले महामारीविरुद्ध चिनियाँ सहयोगको उच्च प्रशंसा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको शुभकामना दिए। उनले नेपाल र चीनका शीर्ष नेताबीच भएका समझदारी कार्यान्वयन, बीआरआईको उच्च गुणस्तरीय विकास, विविध क्षेत्रमा आदानप्रदान, एक चीन नीतिमा समर्थन जनाउँदै चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ राष्ट्रसंघको सन् २०३० दिगो विकास लक्ष्यसँग सम्बन्धित भएकाले नेपालको हित अनुकूल चीनको विकास रणनीतिको अध्ययन गर्ने जवाफ दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *