प्रधानमन्त्री र प्रधानन्यायाधीशबीचको गोप्य भेटवार्ता कसरी भयो लिक ?

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीचको गोप्य भेटवार्ता कसरी भयो लिक ?

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भएको गोप्य भेटवार्ता बाहिरिएको छ । विश्वस्त श्रोतका अनुसार देउवा र जबराको भेट महाराजगञ्जस्थित एउटा घरमा भएको थियो ।

गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयले राजनीति तातेका बेलामा कार्यपालिका र न्यायापालिकाका प्रमुखबीच गोप्य भेटवार्ता भएको खुलासा भएको हो ।प्रधानमन्त्री देउवाको ससुराली खलकका नाता पर्ने प्रमोद राणाको महाराजगञ्जस्थित निवासमा उनीहरुको भेट भएको थियो ।

त्यहाँ भएका भेटहरुमा हमाललाई मन्त्री बनाउनेबारे छलफल भएको र त्यतिवेला नै सहमति भएको सुरक्षा स्रोतको दाबी छ । कतिसम्म भने राणाको उक्त निवासमा नै देउवाले प्रधानन्यायाधीश जबरासँग पटक–पटक छलफल गरेका थिए ।

स्रोतले भन्यो, ‘केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देउवा र प्रधानन्यायाधीशबीच भेटवार्ता पनि प्रमोद राणाकै निवासमा भएको हो । यो भेटवार्ताको सिलसिला महिनौं चलेको थियो ।’प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग नखोजेको भए मिडियामा चर्चा भएअनुसार हमाल नै किन मन्त्री बनाईए त ? यो विषयले गम्भीर प्रश्न उठाएको छ ।

प्रमोद राणाकै निवासमा नै प्रधानन्यायाधीश जबरालाई मन्त्रिदेखि राजदूतसम्म भाग दिनेबारे सहमति भएको र यसमा प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवपनि सहमत भएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो,‘अहिले सत्तापक्षीय गठबन्धनमा आवद्ध कुनै दलले पनि हमाललाई मन्त्री बनाएको बारे विरोध गरेका छैनन् । सबै मौन छन् । हुँदाहुँदै आजबाट गठबन्धनमा आवद्ध दलका शीर्ष नेता र मन्त्रीहरुले नै हमालको मन्त्रीमा नियुक्तीलाई लिएर बचाउ गर्न थालेका छन् ।’

खासमा हमाललाई मन्त्री बनाईउनु भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भाग दिएको भन्ने चर्चा छ । यो विषयमा भएको चर्चाहरुलाई गोप्य रुपमा भएको भेटहरुले पुष्टि गरेका छन् । तर, नवनियुक्त मन्त्री हमाल स्वयम भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ खाएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा समेत उनले आफू कांग्रेसको पूरानो नेता भएको र पार्टीमा लामो योगदान रहेको स्पष्ट पारेका थिए । नाताले हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *