आज मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

आज मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।

उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्री बनाइसकेका थिए। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका थिए।

पछिल्लोपटक कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका थिए। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ।स्रोतकाअनुसार मन्त्री नियुक्त गर्नुअघि शितलनिवास पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन्। उनीहरू सबै देउवानिकट हुन्।आज थप गर्न लागिएका मन्त्रालयमा भने देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्ने भएका छन्।

पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने तयारीमा छन्। पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी देउवाको छ। बडुलाई पौडेल र रिजाललाई महामन्त्री शशांक कोइरालाले मन्त्री बनाउनुपर्ने बताएका हुन्।यस्तै अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको रहेको उक्त स्रोतले जानकारी दिएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मीलाई पठाउने तयारी छ। रेग्मी सभापति देउवानिकट हुन्।पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। सिटौला पक्षलाई युवा तथा खेलकूद मन्त्री दिने तयारी देउवाको छ। मन्त्री नियुक्त गर्ने बेलासम्म यी नामहरू हेरफेर पनि हुनसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *