मन्त्री र सांसदहरुले खन्खन्ती लिए दशैं भत्ता ! कती लिये दसैं भत्ता

मन्त्री र सांसदहरुले खन्खन्ती लिए दशैं भत्ता !

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने निर्णय भएका बेला प्रदेशहरुमा खन्खन्ती भत्ता लिएको पाइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यले भत्ता लिएका हुन् ।

भत्ता उनीहरुको खातामा जम्मा भएको छ। उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्। प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको हो।

‘ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबर दसैँ भत्ता बपतको रकम जम्मा भएको हो,’ प्रदेश सभा सचिवालयका सचिव धामीले भने। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार सभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका प्रमुख सचेतक, सचेतक र सदस्यहरुलाई सुविधा दिइँदै आएको हो।

मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार सुविधा दिइएको हो। मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार राज्यमन्त्रीले अन्य सुविधा बाहेक मासिक तलब मात्रै ५१ हजार, मन्त्रीले ५४ हजार र मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ पाउँछन्।

ऐनमा प्रदेश सभाका सदस्य र पदाधिकारीहरूको मासिक तलब ४८ हजारदेखि ५५ हजार रहेको छ। सुदूरपश्चिम प्रदेश सभामा ५२ जना प्रदेश सांसदहरू विभिन्न दलबाट प्रतिनिधित्व गर्छन्। जसमध्ये ७ मन्त्री र ४ राज्यमन्त्री गरी ११ सदस्यीय मन्त्रीमण्डल रहेको छ।

यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् । बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो ।

संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ । दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत व्यक्त गरेका छन् ।

गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैं भत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना सांसद रहेका छन् । संघीय सांसदहरुका लागि प्रतिमहिना २ करोड ९८ लाख ४६ हजार र सांसदका निजी सचिवका लागि १ करोड ४३ लाख ७४ हजार खर्च हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *