एमाले विधान महाधिवेशन : संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न सुझाव

एमाले विधान महाधिवेशन : संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशनमा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवाज उठेको छ ।

विधान महाधिवेशनको तेस्रो दिन रिपोर्टिङ गर्ने टोली नेताले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्रीलाई काम गर्ने वातावरण सिर्जना गर्नका निम्ति प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनीहरुको भनाइ छ ।

‘आज पाँच वटा समूहको रिपोर्टिङ सकियो’, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘ आजको रिपोर्टिङमा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।’

आइतबार गण्डकी, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय, प्रवास, प्रदेश नम्बर २, १ र जनवर्गीय संगठनबाट सुझाव दिइएको हो । जनवर्गीय संगठनको तर्फबाट सुझाव दिनेक्रममा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने सुझाव राखेकी हुन् ।

‘जनवर्गीय संगठनको समूहबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने सुझाव राख्नुभयो’, भट्टराईले भने । उनले खाद्य सम्प्रभुतामा पार्टीले जोड दिनुपर्ने सुझावसमेत दिएकी छन् ।

आइतबार पाँच समूहले सुझाव दिएसँगै विधान अधिवेशनमा पेस भएका दस्तावेजमाथिको सुझाव दिनेक्रम सकिएको छ । १० समूहमध्ये शनिबार पाँच समूहले सुझाव दिएका थिए।

‘महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएका विधान संशोधन प्रस्ताव उपर सुझाव दिनेक्रम सकिएको छ’, प्रचार विभाग प्रमुख भट्टराईले भने ।

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेक्रम अबको केहीबेरमा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *