यसकारण प्रचण्ड मध्यावधि निर्वाचनका लागि तयार, देशैभरी थाले तयारी

यसकारण प्रचण्ड मध्यावधि निर्वाचनका लागि तयार, देशैभरी थाले तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यावधि निर्वाचनका लागि तयार भएका छन् ।संसद विघटन गरेर आगामी वैशाखमा मध्यावधि निर्वाचनको मनस्थितिमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डको पनि लाइन मिलेको हो । यसको झल्को प्रचण्ड स्वयं दिइरहेका छन् । शनिबार पनि प्रचण्डले यस्तै झल्को दिए । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने प्रचण्डको अर्थपूर्ण भनाइ थियो ।

प्रधानमन्त्री देउवा पनि एमालेलाई हराउन छिटो भन्दा छिटो चुनावमा जानुपर्ने, सरकारमै बसिरहे एमालेले टाउको उठाउने मौका पाउने भन्दै परिस्थिति विश्लेषण गरिरहेका छन् । यहीँ अवस्थामा प्रचण्ड पनि एमालेलाई हराउनुपर्ने कुरा सार्वजनिक मञ्चमै बोलिरहेका छन् । खासगरी डेढ वर्षभित्र सरकारमा जाने एमाले अध्यक्ष केपी ओलीको आत्मविश्वाससँग प्रचण्ड त्रसित देखिन्छन् ।

यसको प्रतिवाद गर्नुपर्ने उनको धारणा आइरहेको छ । प्रतिवादभित्र मध्यावधि चुनाव एक विकल्प रहेको जानकारहरु बताउँछन् ।प्रधानमन्त्री देउवा पनि वैशाखमा मध्यावधि चुनाव गर्न तत्पर छन् । आफ्नै पार्टी, प्रतिपक्षीको ग्रिन सिग्नल पाएका देउवा प्रचण्डको साथ पाएपछि थप उत्साहित भएका छन् ।

त्यसो त प्रचण्डले पनि चुनावी तयारी थालिसकेका छन् । गाउँ गाउँमा कार्यकर्ता सक्रिय बनाउनेतिर प्रचण्ड केन्द्रीत भएका छन् । वाइसीएलदेखि अनेरास्ववियु क्रान्तिकारीसम्म जनवर्गीय संगठनसम्म सबैलाई जागरुक गराउनतिर केन्द्रीत भएका छन् । संगठन जागरणका लागि वडादेखि राष्ट्रिय सम्मेलन पार्टीलाई अग्रसर बनाएका छन् । आफै पनि सभा सम्मेलनमा दिनहुँ सम्बोधन गर्दै हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *