ओलीले यस्तो गभिर प्रश्न खडा गरेपछि यी नेताले बैठकबाटै कुलेलम ठोके

ओलीले यस्तो गभिर प्रश्न खडा गरेपछि यी नेताले बैठकबाटै कुलेलम ठोके

शुक्रबारदेखि च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीसमूहमै विभाजन देखिएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले टोली नेतालाई नै बोल्न रोकेपछि तनावको अवस्था बनेको बताइएको छ । महासेठकै सहमतिमा बनाइएका टोली नेता रामचन्द्र मण्डललाई बोल्न रोकेपछि तनाव देखिएको हो ।

प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका मण्डललाई महासेठले बोल्न नदिएको विषयमा शीर्ष नेताहरूले नै आपत्ति जनाएको छन् । महासेठको उक्त हर्कतपछि अध्यक्ष केपी शर्मा ओलीले समेत रघुवीरको निर्णय निरङ्कुश र विवेकशून्य भएको बताएका छन् । नेता महासेठ अध्यक्ष ओलीका अत्यन्त निकट मानिन्छन ।

मण्डललाई महासेठले बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने नेतृत्वले नै बताएका छन् । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने बताएका छन् ।

समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो ।

बैठकको सुरुवातमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् । समूहगत छलफलको टिपोट सकिएर शनिवार निर्णय सुनाउने क्रममा अन्तिममा रघुवीरले के के बन्यो खोइ भन्दै टिपोट मागेर हेरेपछि कुरा बिग्रिएको थियो ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा शुरुकै पहिलो बुँदामै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर लेखेकोमा धन्यवाद लेखिएको र अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ । भनेर लेखिएको थियो । उक्त बुँदा नै महासेठलाई मन नपरेको बताइएको छ ।

उनले लेखेको उक्त बुँदा अनुसार हुनेहो भने महासेठको प्रदेश इन्चार्ज पद नरहने भएपछि उनले त्यो काट्न लगाएका थिए । काट्न कसैले नमानेपछि विवाद सुरू भएको थियो । त्यसपछि फायर भएका महासेठले तपाई चुप लाग्नुस्, यो विषयमा नाबोल्नुहोला भन्दै झपारेका थिए । महासेठले झपारेपछी मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भनेका थिए ।

त्यसपछि निर्णय सुनाउनका लागि महासेठले अन्य नेताहरूको खोजी गरेका थिए । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर नेतालाई अपमान गरिएको भन्दै कोही बोल्न मानेका थिएनन् । अन्तिममा बोल्ने समय मागेर रामचन्द्र मण्डल उठेर बोल्न थाले । उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने रु भन्ने भाबुक प्रश्न गरे ।

उनले पार्टी अध्यक्षले दस्तावेजमै नेकपा एकता प्रक्रियाको निरन्तरता भनेको भन्दै पूर्व माओवादीलाई कोटा नछुट्याउने हो भने महाधिवेशन प्रतिनिधि नै आउन नसकिने अवस्था रहेको बताएपछि सन्नाटा छाएको थियो ।

रामचन्द्र मण्डलको कुरा सुनेपछि गम्भीर बनेका अध्यक्ष ओलीले उनको कुरा बुझ्न खोज्दा महासेठ बैठक छाडेर भागिसकेका थिए । प्रदेश २ बाट एमाले स्थायी कमिटीमा रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । तर दुवै नेताको शैली ठीक नभएको भन्दै युवा केन्द्रीय सदस्यहरुले प्रदेश २ को सन्दर्भमा विचार गर्न र माथिल्लो तहबाट पदाधिकारीलाई नै इन्चार्ज बनाउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *