कांग्रेस महाधिवेशन पछि धकेल्न सभापति शेरबहादुर देउवा चाहिरहेका छन् । महाधिवेशन सारेर पुसमा पुर्‍याउने उनको चाहना छ । सोहीअनुसार देउवानिकट महामन्त्री पूर्णबहादुर खड्काले बिहीबारको पदाधिकारी बैठकमा महाधिवेशन एक महिनापछि अर्थात् पुसको ९ देखि १३ मा गर्नुपर्ने प्रस्ताव सारे ।

जुन प्रस्तावको संस्थापनइतर पक्षबाट अस्वीकार भइसकेको छ । महाधिवेशन नगर्ने षड्यन्त्रको रूपमा अर्थ्याउन पनि थालेको छ । अस्वीकार हुने थाहा पाएर पनि देउवाले महामन्त्री खड्कालाई महाधिवेशन सार्ने प्रस्ताव गराएका हुन् ।

उसो भए देउवा महाधिवेशन किन सार्न चाहन्छन् ? सार्न चाहनुको अन्तर्य के-के हुन सक्छन् ? यसबारे राजनीतिक विश्लेषकहरू चार कारण हुन सक्ने औंल्याउँछन् ।

पहिलो-पार्टी सत्तालाई लम्ब्याउने चाहना

सभापति देउवा नेतृत्वको केन्द्रीय समितिको चार बर्से कार्यकाल सकिएको २०७६ फागुनको १९ गते हो । जतिबेला कोभिड महामारी थिएन । तैपनि महाधिवेशन सारेर २०७७ फागुन ७ देखि १० गते गर्ने भनेर सारिदिए ।

विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष सार्न मिल्ने सुविधाअनुसार सारिएको हो । तर, सारिएको अवधिमा महाधिवेशन गराउन देउवा असक्षम भए । अन्ततः केन्द्रीय समिति बैठकबाट भदौको १६ देखि १९ गते महाधिवेशन गर्ने निर्णय गराए । तोकिएको उक्त मितिमा पनि महाधिवेशन नगरेर उनले मंसिरको ९ देखि १३ गतेसम्म गर्ने निर्णय गराए ।

अझै सारेर पुसमा पर्‍याउने उनको तयारी छ । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल महाधिवेशन नगरेर पार्टी सत्तालाई लम्ब्याइरहने, पार्टीलाई कब्जा गरिरहने र आफ्ना विचारलाई जबर्जस्ती लादिरहने चाहना देउवामा रहेको विश्लेषण गर्छन् ।

दोस्रो-जित्ने माहोल बनाउँदै

६४ जिल्लाको वडा अधिवेशनपछि गाउँ/नगर अधिवेशन हुँदा १३ जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ । सदस्यतामा देउवाले धाँधली गरेको आरोप संस्थापनइतर पक्षको छ ।

देउवाकै गृह जिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन पनि पुनः हुनुपर्ने माग उठेको छ । जहाँ प्रशासन लगाएर बलपूर्वक अधिवेशन गराउँदै प्रतिनिधि छनोट गरेको आरोप देउवामाथि लागेको छ । यसरी देउवा जसरी भए पनि सभापति पदमा निर्वाचित हुने गरिको वातावरण बनाउनमा लागेको देखिन्छ ।

तर, अर्का राजनीतिक विश्लेषक दुर्गा सुवेदीलाई देउवा प्रतिकूल वातावरण कांग्रेसमा बनेको लागेको छ । तै पनि, जित्ने गरिको माहोल बनाएर महाधिवेशन गर्ने देउवाको चाहना रहेको सुवेदीको विश्लेषण छ ।

‘यत्रो वर्ष सभापति भएपछि हार्ने त उनको चाहना होइन नि । त्यही भएर उनी जित्ने माहोल बनाउँदै छन्’, सुवेदीले फरकधारसँग भने, ‘अहिले पार्टीभित्र देउवाको प्रतिकूल वातावरण छ । समयमा छोडेको भए यस्तो हुने थिएन ।’

एजेण्डा र विचार पुरानै भए पनि वडा अधिवेशनदेखि गाउँ/नगरको अधिवेशनमा प्रतिनिधिहरू अधिकांश युवा पुस्ताका आए । गाउँ/नगरदेखि पनि प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रबाट नेतृत्वसँगै प्रतिनिधिहरू युवा बढी आएका छन् ।

राजनीतिक विश्लेषक डा. दाहाल युवा उमेरका महाधिवेशन प्रतिनिधिहरूको पकड विस्तार हुँदै जाँदा देउवासहित ७० वर्ष भन्दा माथिका नेताहरूप्रति दबाब सिर्जना भएको छ । बढ्दो दबाबलाई थेगेर अघि बढ्न पनि उनले महाधिवेशनलाई सार्न फेरि चाहेको हुन सक्ने दाहाल बताउँछन् ।

तेस्रो- प्रतिस्पर्धी उम्मेदवार र महाधिवेशन प्रतिनिधि कुर्दै
सभापति पदमा उम्मेदवारी घोषणा पूर्व कार्यवाहक सभापति गोपालमान श्रेष्ठ र युवा नेता कल्याणकुमार गुरुङबाट भएको छ । तर, १३ महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धी रामचन्द्र पौडेलदेखि सभापति पदमा निर्वाचन लड्ने भन्दै आएका कोही पनि नेताले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

यद्यपि, यसअघि नै पौडेलले संस्थापनइतर पक्षबाट एकजना सभापति पदको उम्मेदवार हुने बताएका छन् । त्यही भएर नेता पौडेलदेखि महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतले उम्मेदवारी घोषणा नगरेका हुन सक्ने ठानिएको छ ।

यसरी संस्थापनइतर पक्षबाट उम्मेदवारी घोषणा नभएकाले को सभापति पदका प्रतिस्पर्धी हुन् भन्ने निश्चित छैन । यसले गर्दा देउवाले निश्चित भएपछि मात्रै महाधिवेशन गर्न चाहेको ठम्याइ छ । फेरि, अर्कातिर केन्द्रीय सभापति पदका मतदाता भनेकै महाधिवेशन प्रतिनिधिहरू र महासमिति सदस्यहरू हुन् ।

अधिवेशन भएर प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला समन्वय समितिबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू आउन बाँकी छ । कति आफ्ना पक्षका र कति विपक्षका आउँछन्? त्यसको हिसाब गरेर मात्रै देउवाले महाधिवेशन गर्न चाहेको राजनीतिक विश्लेषक सुवेदीको ठम्याइ छ ।

चौथो : पहिले संसद् निर्वाचन, त्यसपछि महाधिवेशन

देउवानिकट नेता भीष्मराज आङ्देम्बेले गठबन्धनमा रहेका दुई घटकहरू नेकपा (एस) र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषद् विस्तार गर्न नसकेर सरकार सर्वत्र बदनाम भएको भन्दै बरू मध्यावधि निर्वाचनमा जान दबाब दिइरहेको खुलासा गरेका छन् । आङ्देम्बेका अनुसार देउवा त्यसप्रति सकारात्मक छन् ।

२९ असारमा संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री भएका हुन् । ७६ अन्तर्गतको बाँकी उपधाराहरूमा टेकेर सरकार बन्ने स्थिति छैन । उल्टै यो सरकारले सरकार सञ्चालन गर्न असहज अवस्था आए संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराउन सक्छ ।

राजनीतिक विश्लेषक डा. दाहाललाई पनि देउवामा मध्यावधि निर्वाचनमा जाने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गराउने मनस्थिति रहेको लागेको छ । ‘कांग्रेस सरकारमा छ । गठबन्धनले सरकार बनाउन दिने परिस्थिति पनि छैन । तसर्थ, वडाको अधिवेशन सकेपछि कानुनी अड्चन पनि नहुने र सरकार निर्माण नभए संसद् छलेर ७६ (५) को सरकारले विघटन गरेर निर्वाचन घोषणा गरेर अहिले निर्वाचन सकेपछि बल्ल महाधिवेशनमा जाने हो कि भन्ने लागेको छ’, दाहाल भन्छन् ।

देउवा १३ औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति भएका हुन् । जतिबेला उनले एक हजार ८२२ मत प्राप्त गर्दा पौडेलले एक हजार २९६ मत प्राप्त गरेका थिए । यसपालि पनि उनी सहज निर्वाचित हुने माहोल बनाउन लागेका छन् । महाधिवेशनको माहोल अनुकूल बनाउन जोडबल गरिरहेका छन् । जसले गर्दा उनी पनि महाधिवेशन सार्न चाहने गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *