चर्चित गोरे सुन काण्ड मुद्दाको अन्तिम बहस आज हुँदै

चर्चित गोरे सुन काण्ड मुद्दाको अन्तिम बहस आज हुँदै

विराटनगर । सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको बहुचर्चित मुद्दाको अन्तिम बहस आज (आइतबार)देखि सुरु हुँदैछ । सुन तस्करका भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको खुलेको थियो ।

उच्च प्रहरी अधिकारीसमेतको संलग्नता देखिएपछि करिब ४ वर्षअघि मुलुककै ध्यान खिचेको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम सुनुवाइ एवम् बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।

७७ जना प्रतिवादी रहेको मुद्दामा पहिलो दिन आज सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए । उनका अनुसार यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । लामो समयदेखि विचाराधीन रहेर फैसलाको चरणमा पुगेको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच बहस हुने जानकारी धमलाले दिए ।

कानुन व्यवसायीको बहस सकिएपछि कुनै त्यस्तो परिस्थिति उत्पन्न नभएमा अदालतले फैसला गर्ने छ । मुद्दाको किनारा दसैंअघि नै लगाउने तयारी अदालतले गरेको छ । वादी नेपाल सरकारका तर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले गर्ने छन् ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेल लगायतले सरकारका तर्फबाट बहस गर्ने छन् । उनीहरुले सुन तस्करीलाई थप पुष्टि गर्ने आधार पेस गर्दै तस्करी एवम् हत्यामा संलग्नलाई कैद सजायको मागदाबीसहितको दलिल इजलासमा प्रस्तुत गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *