शुक्रबार साँझ मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट एक मन्त्री र राज्यमन्त्रीले लिए सपथ

शुक्रबार साँझ मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट एक मन्त्री र राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उनले नेकपा (एकीकृत समाजवादी)बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ नै प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्।

एकीकृत समाजवादीबाट तारा लामा तामाङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् भने माया तामाङ बोहोरा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्। तामाङ यसअघि नेकपा एमालेमा हुँदा संसदीय दलका प्रमुख सचेतक थिए। बोहोरा भने एमालेमा आन्तरिक विवाद हुँदा ओली समूहमा थिइन्।

एमाले विभाजनसँगै अल्पमतमा परेका कारण प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएका थिए ।उनीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा एकीकृत समाजवादीले दुई जनालाई पठाएका हुन् ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारालामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।

बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै रहेकी थिइन् । एमाले विभाजनपछि उनले नयाँ दलका रूपमा एकीकृत समाजवादीलाई रोजेकी हुन् ।प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *