कर्णाली कब्जा गर्ने रणनीतिमा होमियो माओवादी

कर्णाली कब्जा गर्ने रणनीतिमा होमियो माओवादी

काठमाडौँ : जनयुद्धदेखि धनयुद्धसम्मको आधारक्षेत्रमा माओवादीका लागि सबैभन्दा सुरक्षित बंकर हो, कर्णाली । संविधानसभा, गणतन्त्र र संघीयता ल्याउने माओवादीको निर्णायक आन्दोलन कर्णालीबाट सुरु भएको थियो । सोही कारण पनि आन्दोलनको बिगुल फुकेको माओवादीले कर्णालीलाई अहिले पनि आधारक्षेत्र मान्छ ।

अरु प्रदेश र जिल्लामा माओवादीको गढ रहला नरहला ? तर कर्णालीमा भने रहन्छ । कर्णालीका हरेक जिल्लामा भलै त्यो सुरक्षित किल्ला नमानिएला । तर केही जिल्लामा अझै छ । जस्तो रुकुम पश्चिम र कालिकोट । जहाँ माओवादीको गढ भत्काउन मुश्किल देखिन्छ ।

२०६४ सालदेखि ठूलो पार्टी बनेर चुनावमा होमिएदेखि माओवादी दुब्लाउँदै गएपनि कर्णालीमा फेरि शक्ति आर्जन गर्ने माओवादीको रणनीति छ । केही समयअघि कार्यविभाजन गरेर माओवादीले कर्णालीमा शक्ति बस्नेतलाई इन्चार्ज तोकेको छ ।

यस्तै टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल र महेन्द्र शाहीलाई सहइन्चार्ज तोकेको छ । सुर्खेतमा नरबहादुर बिष्टले इन्चार्जको जिम्मेवारी पाएका छन् । हालै सुर्खेत जिल्लाले पनि पालिकाहरुमा इन्चार्ज तोकेको छ ।

माओवादीका महत्वपूर्ण नेताहरुलाई जिल्ला कमिटी सुर्खेतले आधार इलाका भएकै क्षेत्रका पालिकाको जिम्मेवारी तोकेको हो । जसमा वर्तमान मन्त्री समेत रहेकी सीता नेपालीले लेकबेशी नगरपालिकाको कमाण्ड सम्हालेकी छन् । वीरेन्द्रनगरको कमाण्डमा मन्त्री नेपालीकै प्रमुख स्वकीय सचिव दानसिंह सुनार शंकरले जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादीका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टलाई गुर्भाकोट नगरपालिकाको जिम्मेवारी दिइएको छ । यस्तै नवीनलाई पन्चपुरी र विवशलाई चौकुने गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । नवीनले गएको स्थानीय तहको चुनावमा पन्चपुरीको मेयरमा पराजय व्यहोरे भने विवशले चौकुनेमा थोरै मतान्तरले हार स्वीकार गरे ।

उसो त गएको स्थानीय तहको चुनावमा कर्णालीकै राजधानीमा नमिठो पराजय व्यहोरेपछि माओेवादी यसपटक धेरै ठाउँमा चुनाव जित्ने रणनीतिका साथ मैदानमा होमिएको छ । प्रदेशकै शीर्ष तहका नेतालाई समेत स्थानीय तहको जिम्मेवारीमा पठाएको छ । यसले कर्णालीमा माओवादी आगामी चुनाव जित्ने मात्रै होइन, कर्णालीको राजधानी कब्जा गर्ने रणनीतिमा समेत होमिएको छ ।

गएको चुनावमा सुरुमा कांग्रेस र पछि एमालेसँग तालमेल गरेको माओवादी यसपटक कांग्रेस र नेकपा समाजवादीसँग तालमेल गर्नुपर्ने अवस्थामा छ । तर त्यतिले पनि माओवादी सिट सुरक्षित गर्न गाह्रो छ । त्यसैले अहिलेदेखि नै ग्राउण्ड बुझ्ने, कार्यकर्तालाई सम्पर्कमा राख्ने, प्रभाव बढाउने नयाँ योजनाका साथ माओवादी मैदानमा उत्रिएको छ ।

अर्को सत्य के हो भने विगतदेखि कमजोर, फितलो र आन्तरिक पार्टी अस्तव्यस्त भएर चाकडीकै भरमा पद हत्याएका नेता कार्यकर्ताका कारण माओवादीमा आकर्षण घट्दै गएको छ । त्यसमाथि दलित, जनजातीलाई समेटेर समावेशी मुद्दा उठाएपनि पैसा र पावरका पछाडि लागेका माओवादी नेताहरुका कारण पनि उसको चुनावी आधार कमजोर छ ।

बाँकी कांग्रेस र नेकपा समाजवादीको आडमा मात्रै माओवादीले सम्माजनक सिट ल्याउने अनुमान आगामी चुनावमा गर्नुपर्ने बाध्यता माओवादी नेताहरुलाई छ ।

‘पार्टीको जिम्मेवारीका हिसाबले बोल्नुपर्दा हामी कमजोर छैन भन्नुपर्छ । तर गाउँदेखि वडासम्म हेर्दा माओवादीप्रतिको भरोसा टुट्दै गएको सत्य हो । त्यही भएर त गएको चुनाव धेरै ठाउँमा हारियो,’ हालै सुर्खेतमा पालिकास्तरको जिम्मेवारी तोकिएका एक नेताले कर्णालीखबरसँग भने, ‘तर अब विगतका गल्ती कमजोरी सच्याएर कार्यकर्ता र जनताको मन जित्ने रणनीति छ । त्यसैका लागि अहिल्यै जिम्मेवारी बाँडफाट भएको हो । चुनावी धरातल हेर्दा गाह्रै भएपनि पार्टीको रणनीति कम्तीमा कर्णालीको राजधानी कब्जा गर्ने नै छ ।’

पोहोरको चुनावमा एमालेसँग एकता गरेपछि बनेको नेकपाको जिम्मेवारीको अर्थ नरहेपछि माओवादीले पालिकास्तरमा नेता कार्यकर्तालाई नयाँ जिम्मेवारी तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *