बजेटको ब्रिफकेस फुटाइदिएका अर्थमन्त्री शर्मा जब दौडिँदै रोस्ट्रममा पुगे

बजेटको ब्रिफकेस फुटाइदिएका अर्थमन्त्री शर्मा जब दौडिँदै रोस्ट्रममा पुगे

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ को बजेट प्रस्तुत गर्न जाँदा ब्रिफकेस फुटाइदिएका वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच आर्थिक अध्यादेश २०७८ पेस गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक अध्यादेश २०७८ पेस गर्ने अनुमति दिएलगत्तै उनी आफ्नो आसनबाट दौडिँदै रोस्ट्रममा पुगेका थिए।

अर्थमन्त्री शर्मा एमालेका सांसदहरुबाट रोष्ट्रममा जाने क्रममा अवरोध हुन सक्ने भएका कारण दौडिएर रोस्ट्रममा चढेका हुन्।एमाले सांसदहरुले अवरोध जारी राखिरहँदा शर्मा बेलको पछाडिबाट घुमेर रोस्ट्रममा चढेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

आर्थिक वर्ष २०६७/०६८ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन प्रतिपक्षी माओवादीले अवरोध मात्रै गरेको थिएन, ब्रिफकेस नै फुटाइदिएको थियो। त्यसको नेतृत्व वर्तमान अर्थमन्त्री शर्माले गरेका थिए।

त्यसबेला माओवादीसँग सहमति गरेरै संसदमा बजेट प्रस्तुत गर्ने तयारी तत्कालीन सरकारले गरेको थियो। तर, माओवादीले सहमति उल्लंघन गरेर संसदमा बजेट प्रस्तुत गर्न अवरोध गरेको थियो।

माओवादीले अवरोध गरेको अर्को दिन २०६७ मंसिर ४ मा तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।संसदमा उपस्थित मर्यादापालकले रोक्दा रोक्दै पनि तत्कालीन अर्थमन्त्री पाण्डेमाथि माओवादीले हातपात गरी बजेट बोकिएको ब्रिफकेस फुटाइदिएको थियो।

त्यसबेला बजेटको ब्रिफकेस फुटाइदिएपछि संसद सचिवालयले छानबिन समिति बनाएर जरिबाना तिराउने निर्णय पनि गरेको थियो। तर त्यो निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *