अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले पनि राजीनामा दिने को बन्नेछन् बागमती प्रदेशको मुख्यमन्त्री ?

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले पनि राजीनामा दिने को बन्नेछन् बागमती प्रदेशको मुख्यमन्त्री ?

बागमती प्रदेशका १२ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएपछि नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद अल्पमतमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको हो ।

शाक्यको पद संकटमा परेपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् । बागमती प्रदेश सरकारको नेतृत्वमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेका छन् ।

प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसले संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नाम अघि सारेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउनु पर्ने दाबी गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले पनि बागमती सरकारको नेतृत्वका लागि दाबी गरेका छन् । तर, उनी बागमती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले नपाउने बताएका छन् ।

नेताहरु नयाँ मुख्यमन्त्रीको लागि केन्द्रमै छलफल हुने र दलहरुबीच समझदारी हुने बताउँछन् । बागमती प्रदेशमा नेकपा एमालेक ५६ सांसद रहेकोमा १२ जनाले एमाले त्यागेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेशसभामा एमालेले बहुमत गुमाएको छ।

गत भदौ २ गते मात्रै शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् । १०९ सांसद रहेको बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसद आवश्यक पर्छ । ५६ सांसदसहित एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो । तर, मंगलबार १२ सांसदले नयाँ दल रोजेसँगै एमाले अल्पमतमा झरेको छ । अब निर्वाचन आयोगले संसदलाई पार्टी विभाजन भएको जानकारी गराएको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत लिनुपर्छ।

हाल एमाले छोडेर समाजवादीमा गएका १२, माओवादीको २३ र कांग्रेसको २२ गरी ५७ जना सांसद हुन्छन् । एमालेमा बाँकी रहेका ४४ सांसद, विवेकशील साझाको ३, राप्रपा तथा नेमकिपाको २-२ र एक स्वतन्त्र सांसदले शाक्यलाई मत दिए पनि जम्मा ५२ मात्रै हुन्छन् ।

जुन सरकार गठनका लागि पर्याप्त हुँदैन । विवेकशील साझाले कांग्रेससहितको गठबन्धनलाई साथ दिने जनाइसकेको छ । विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिँदै राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

नेकपा एमालेका सांसदहरु कृष्णप्रसाद खनाल, राजेन्द्र प्रसाद पाण्डे, बसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, लक्ष्मण लम्साल, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, रमा आले मगर र कुसुमकुमार कार्की नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *