राजनीतिबाटै बिदा लिने प्रचण्डको तयारी, कार्यकर्तामाझ गरे यस्तो घोषणा

राजनीतिबाटै बिदा लिने प्रचण्डको तयारी, कार्यकर्तामाझ गरे यस्तो घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युवाहरू राजनीतिक नेतृत्वमा आए आफूले राजनीतिबाट बिदा लिने बताएका छन् ।योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई शनिबार काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् ।

‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन,’ प्रचण्डले भने ।

वाईसीएलले भचुर्अल माध्यमको प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गरेको छ । प्रविधिको प्रयोग गरेर सम्मेलन आयोजना गरेको भन्दै प्रचण्डले वाईसीएलको प्रशंसा गरेका थिए ।

‘विज्ञानमा बेइमानी चल्दैन । नभएको कुरा ढाँटेर हुँदैन । जे भनेको छ त्यही हुन्छ । हामीले बुझेको विज्ञान त्यही हो । राजनीति पनि त्यही हो । तर, केपी प्रवृत्ति अर्कै रहेछ,’ प्रचण्डले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेको त लेबल मात्रै रहेछ । भ्रष्टाचार छोप्नका लागि मात्रै रहेछ ।’

पार्टी एकता गर्ने केपी ओलीको कामलाई प्रचण्डले ओलीको ठगी धन्दा भनेका छन् । ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *