ओलीले हुन्न हुन्न भन्दाभन्दै मुख्यमन्त्री आचार्यले यस्तो काम गरे, अब के होला यसको परिणाम ?

ओलीले हुन्न हुन्न भन्दाभन्दै मुख्यमन्त्री आचार्यले यस्तो काम गरे, अब के होला यसको परिणाम ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बिशेष पहलमा मुख्यमन्त्री बनेका भीम आचार्यले उनकै कुरा सुन्न छाडेका छन् । प्रदेश १ मा आफ्ना मान्छेलाई मन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मुख्यमन्त्री भीम आचार्यले अवज्ञा गरेका छन्।

शुक्रबार आफू निकटका दुई जनालाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री आचार्यलाई अध्यक्ष ओलीले फोन गरेरै संखुवासभाका सांसद तुलसी न्यौपानेलाई नियुक्त गर्न निर्देशन दिएका थिए। आचार्यले न्यौपानेलाई सपथ गराउन इन्कार गरेका हुन्।

पार्टी अध्यक्षकै निर्देशन अवज्ञा भएपछि प्रदेशको सत्तारूढ एमालेमा खटपट सुरू हुने निश्चित भएको छ। आचार्यले बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नियुक्त गरेका छन्।

उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन्। यसअघि शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा प्रदेश १ को मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर एमालेभित्र विवाद भएको थियो।

बिहीबार आफूले मात्रै सपथ लिएका मुख्यमन्त्री भीम आचार्यले शुक्रबार आफू निकटका दुई जनालाई मात्रै मन्त्री पदको सपथ दिलाउने तयारी गरेपछि उनीहरूसहित आफ्ना पक्षका सांसदलाई पनि मन्त्री नियुक्त गर्न निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दबाब दिएका थिए। राईले तुलसी न्यौपानेलाई पनि सपथ गराउन दबाब दिएको निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *