यता पनि ओली समूहको शक्तिशाली पद फुत्कियो

यता पनि ओली समूहको शक्तिशाली पद फुत्कियो

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखबाट एमालेका अध्यक्ष खड्गप्रसाद ओली समर्थक विष्णुप्रसाद प्रसाइँलाई हटाएर माधव नेपाल समूहका यादवचन्द्र शर्मालाई नियुक्त गरिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रसाइँलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले शुक्रबार शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् ।

शर्मामा शंखुवासभा निवासी हुन् । उनी एमालेमा विदेश विभागमा रहेर लामो समय काम गरेका थिए । शर्मालाई नेपालको सिफारिसमा सरकारले प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो ।

शर्मा बागमती प्रदेशका तेस्रो प्रमुख बनेका छन् । ओलीले यसअघि नेपाली कांग्रेस समर्थक अनुराधा कोइरालालाई हटाएर आफू निकटका प्रसाइँलाई प्रदेश प्रमुख बनाएका थिए ।

यसैबीच, सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेपालनिकट निरञ्जन झालाई नियुक्त गरेको छ । सरकारले झालाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष रहेका उझा हाल माधव समूहमा लागेका छन् । उनी सप्तरीको राजविराज नगरपालिका–१ निवासी हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री ओलीले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईले पदीय आचारण विपरितका हर्कत गरेपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले स्पष्टीकरण सोधेको थियो । जवाफ नदिएर भट्टराईले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *