नयाँ पार्टी खोल्ने माधब नेपालको सपना चकनाचुर, राजनीतिका चतुर खेलाडी ओलीले चाले यस्तो कदम

नयाँ पार्टी खोल्ने माधब नेपालको सपना चकनाचुर, राजनीतिका चतुर खेलाडी ओलीले चाले यस्तो कदम

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न देशभरका नेता कार्यकर्तासँग परामर्श गरिरहेका बेला स्थायी कमिटी सदस्यहरूले त्यसलाई रोक्ने उपायको खोजीमा लागेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाल दुवै पक्षका स्थायी कमिटी सदस्यहरूले नयाँ दल खोल्नबाट रोक्ने उपायको खोजीमा लागेका हुन् ।

ओली पक्षबाट कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेलका साथै अन्य नेताहरू पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ लगायतका नेताहरूले पार्टी कुनै पनि हालतमा विभाजन गर्न नहुने भन्दै ओलीलाई दबाब दिएका छन् ।

तर ओलीले यसलाई वास्ता गरेका छैनन् । त्यस्तै यता नेपाल समूहका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट, भीम आचार्य र रघु पन्त पनि पार्टी विभाजन गर्नु हुँदैन भनेर लबिङ गरिरहेका छन् ।

योगेश भट्टराई र अमृत बोहोरा, प्रमेश हमाल पनि पार्टी विभाजनको पक्षमा छैनन् । तर माधव नेपालले देशभरका नेता कार्यकर्तासँग परामर्श गर्न छाडेका छैनन् । ‘माधव नेपाल निकै अघि बढेका छन् फर्काउन कठिन छ तर पनि अन्तिम अवस्थासम्म हाम्रो प्रयास जारी रहन्छ’, ओली निकट एक स्थायी कमिटी सदस्यले भने ।

अध्यक्ष ओलीले एकलौटी विधान संशोधन अगाडि बढाएर पार्टी एकताको ढोका करिब बन्द गरेको निष्कर्षसहित वरिष्ठ नेता नेपालले नयाँ विकल्पका लागि आन्तरिक परामर्श सुरु मात्र गरेका छैनन् पार्टी विभाजनको औचित्य पुष्टि हुने आधारसहितको दस्ताबेज लेखनको समेत जिम्मेवारी दिएका छन् ।

चलायमान समानान्तर गतिविधि कि नयाँ पार्टी गठनको विकल्पबारे तत्काल निर्णयमा पुग्नुपर्ने स्थिति आएको भन्दै नेता नेपालले केन्द्रीय सदस्य, सांसद, जिल्ला र जनसङ्गठनका नेताहरूसँगको परामर्शलाई तीव्रता दिए पनि अन्ततः विभाजनकै दिशामा अघि बढेका छन् ।

भेट हुन नसकेका जिम्मेवार तहका नेता र जनसङ्गठनका प्रमुखलाई नेपालले टेलिफोनबाटै नयाँ पार्टीसमेत गठन गर्नुपर्ने अवस्था आएको सङ्केत गर्दै तयारी अवस्थामा बस्न र दृढतापूर्वक नयाँ निर्णयका पक्षमा उभिने गरी तयार रहन निर्देशनसमेत दिएका छन् ।

नेपालले पोलिटब्युरो नेताहरू प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विरोध खतिवडासँग परामर्श गरेका थिए । त्यस्तै, सांसदहरू कल्याणी खड्का, प्रेम आले, गोपालबहादुर बम, पार्वती बिसुंखे, रामकुमारी झाँक्री, डोटीसहित विभिन्न जिल्लाका नेतृत्व र स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका छन् ।

ओलीका कारण एमाले खरानी बन्न सक्ने

नेपाललाई भेटेका नेता तथा सांसदहरूले एकलौटी विधान संशोधन गरेर एकल निरङ्कुश अध्यक्ष बन्ने सोचसहित अघि बढेका ओलीले एकताको ढोका बन्द गर्ने गरी आफूहरूका तर्फबाट सम्मानजनक एकताका लागि गरेको प्रस्ताव अस्वीकार गरिसकेको निष्कर्ष सुनाएका थिए ।

‘अहिलेका लागि समानान्तर गतिविधि बनाउँदै जानुपर्छ भन्ने नै व्यापक मत छ, तर केपी ओलीले एकताको ढोका करिब–करिब बन्द गरिसकेका कारण यही स्थितिलाई कहिलेसम्म रहन दिने भन्ने माधव नेपालको निष्कर्ष छ,’नेपाल निकट केन्द्रीय सदस्य तथा सांसद जीवनराम श्रेष्ठले भने । नेपाल निकट रहेका अधिकांश नेताहरूले ओलीसँगको सहकार्य सकिएको हो भने नयाँ सम्भावनाबारे छलफल गर्नुपर्ने सुझाव दिएको बताइएको छ । तर उनीहरूले अन्तिम अवस्थासम्म पनि पार्टीलाई एकताकै पक्षमा उभ्याउनु पर्ने पनि बताएका थिए ।

नेपाल अघि बढेको थाहा पाएपछि ओली र नेपाल दुवैतर्फका नेताहरूले पार्टी एकताको पक्षमा विज्ञप्ति जारी गर्ने सम्भावना पनि रहेको छ । ओली पक्षका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले त आन्तरिक छलफलमा केपी शर्मा ओलीका कारण एमाले खरानी बन्न सक्ने बताएका छन् । उनले ओलीमा विकसित भएको अहङ्कार, दम्भ र व्यक्तिवादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको समेत बताउँदै पार्टी एकताका लागि अपिल गरेका छन् । ओली पक्षका अन्य नेताहरू पनि पार्टी विभाजन भए ओलीकै कारण हुने भन्दै पार्टी एकताको पक्षमा अपिल गर्ने सोचमा रहेको स्रोतको दाबी छ ।

नेपाल पक्षले २२ गते सम्पन्न बैठकबाट सम्मानजनक एकता गर्ने निर्णय गर्दै त्यसका लागि सङ्गठनात्मक गतिविधि रोक्न संस्थापन पक्षको ध्यानाकर्षण गराएको थियो । तर, २४ साउनका लागि डाकिएको बैठक रोकिए पनि २५ साउनमा केन्द्रीय कमिटी बैठकबाट अध्यक्षलाई झन् शक्तिशाली बनाउने र महासचिवसहितका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनीत गर्ने गरी विधान संशोधन प्रस्तावलाई तलसम्म छलफलका लागि लैजाने निर्णय गरेपछि नेपाल अब एकता नहुने निष्कर्षमा पुगेर अघि बढेको उनी निकट नेताहरूले बताएका छन् ।

ओलीले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति समेत गठन गरेपछि पार्टी एकताको पक्षमा रहेका नेताहरू समेत चिढिएका थिए। स्थायी कमिटीको बैठकबाट राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, बिन्दा पाण्डे रहेका जिम्मेवारी दिएका छन् । त्यसैगरी सङ्गठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी महासचिव ईश्वर पोखरेल सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शङ्कर पोखरेल, किरण गुरुङ, पद्मा अर्याललाई जिम्मेवारी दिइएको थियो ।

ओलीले विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल, सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ,राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साहलाई जिम्मेवारी दिएका छन् । त्यसैगरी ओलीले व्यवस्थापन समितिको संयोजकमा रामवहादुर थापा, सदस्यहरूमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पालाई जिम्मेवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *