राजीनामा दिन देउवाको ठाडो निर्देशनपछि विद्युत् प्राधिकरणका प्रमुखले दिए यस्तो प्रतिक्रिया

राजीनामा दिन देउवाको ठाडो निर्देशनपछि विद्युत् प्राधिकरणका प्रमुखले दिए यस्तो प्रतिक्रिया

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गरेकी थिइन् ।

‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, ‘तर, उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो’

२६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७८ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको थियो ।

शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *