यस्ता छन् पार्टी एकताको लागि माधव नेपालले अघि सारेको तीन सर्त

यस्ता छन् पार्टी एकताको लागि माधव नेपालले अघि सारेको तीन सर्त

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि तीन सर्त अघि सारेका छन् । उनीनिकट एक नेताका अनुसार नेपालले अध्यक्ष ओलीकै हैसियतमा पार्टी निर्णय र पत्राचारमा हस्ताक्षर हुनुपर्ने विषयलाई पहिलो सर्त बनाएका छन् ।

तर ओली पक्षले यसलाई अस्वीकार गरेको छ । यसबाहेक पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल पूरा रहने गरी संस्थापन पक्षले प्रतिबद्धता जनाउनुपर्ने दोस्रो सर्त नेपालले अघि सारेका छन् । ओली आफूले दुईपटक विघटन गरेको संसद् पुनःस्थापना भए पनि यसको कार्यकाल पूरा नजाओस् भन्नेमा छन् ।

एकताका लागि नेपालले प्रतिनिधिसभा विघटन गलत थियो भनेर ओलीले स्वीकार गर्नुपर्ने तेस्रो सर्त राखेका छन् । तर ओलीले पटक–पटक आफ्नो कदम सही र आवश्यक रहेको दाबी गर्दै आएका छन् ।

ओलीले सुरुमा पुस ५ मा र दोस्रोपटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेका थिए । दुवैपटकको विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्टाइदिएको थियो । प्रतिनिधिसभा पुनःस्थापनाका लागि नेपालले राजनीतिक र कानुनी लडाइँ लडेका थिए ।

यद्यपि नेपालनिकट केही नेताले तीनवटै सर्त पूरा नभए पनि दसबुँदे सहमति र दुई अध्यक्षको व्यवस्थासहित एकतामा जान नेपाललाई सुझाव दिएका छन् । नेपालले सोमबार स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा एकताका लागि भएका प्रयासबारे दोस्रो तहका नेताहरूले ब्रिफिङ गरेका थिए ।

स्थायी कमिटी सदस्य गोकर्ण विष्टका अनुसार बैठकमा नेता नेपालले आफू सम्मानजनक एकताको पक्षमा रहेको बताएका छन् । ‘सबै कमरेडहरूले एकतामा जोड दिइरहनुभएको छ, यसमा मेरो विमति छैन तर सम्मानजनक एकतामा ध्यान दिन जरुरी छ,’ बैठकमा नेपालले राखेको भनाइ उद्धृत गर्दै विष्टले भने ।

दुई अध्यक्षको व्यवस्थासहित दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जाने सर्वसम्मतिले निर्णय भएको उनले दाबी गरे । ‘दसबुँदे र दुई अध्यक्षको व्यवस्थासहित पार्टी एकतालाई सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो समूहमा सर्वसम्मतिले निर्णय भयो,’ विष्टले भने, ‘त्यसबाहेक पार्टी एकतामा समस्या पैदा हुने गरी कसैबाट पनि अभिव्यक्ति आउनु शोभनीय हुँदैन । त्यसले एकतालाई मजबुत बनाउँदैन । यसमा नेतृत्वले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *