एमसीसी पास गरेर नयाँ मन्त्रीहरुको सपथ !

एमसीसी पास गरेर नयाँ मन्त्रीहरुको सपथ !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद्ले अमेरिकी सहयोग नियोक (एमसीसी) पास भएपछि मात्रै पूर्णता पाउने भएको छ ।प्रधानमन्त्री देउवाले आफ्नै पालामा एमसीसीमा हस्ताक्षर भएको र कान्र्यान्वयन गर्ने म्याद अन्तिम अवस्थामा पुगेको भन्दै पहिलो प्राथमिकता त्यसलाई दिने सत्ता गठबन्धनका शीर्ष नेता र पार्टी पदाधिकारी बैठकमा बताएका छन् ।

एमसीसीमा हस्ताक्षर यो भन्दा अघिल्लो पटक देउवा प्रधानमन्त्री भएका बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।कार्की अहिलेको सरकारमा पनि कानुन न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यही भएर पहिला एमसीसी पास गर्ने, त्यसपछि मात्रै अन्य काम गर्ने तयारी देउवाको छ ।

देउवाले आफू निकटका नेताहरुसँग एमसीसीका विषयमा पदाधिकारी बैठकपछि पनि बिहीबार छलफल गरेका थिए । नेताहरुले पहिला एमसीसी पास गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरेमा विरोध गर्ने नेताहरु पनि मन्त्री पाउने आशमा विरोध गर्न नसक्ने सुझाएका थिए ।

‘हामीले पहिला एमसीसीलाई सदनमा प्रस्तुत गर्नुस् । निर्णयर्था प्रस्तुत गरेर संसदबाट पास भएपछि मात्रै अरु काम गर्नुहोला भनेका छौं । उहाँ सकारात्मक हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने ।

पार्टीका नेताहरु र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग देउवाले यो विषयमा छलफल गरेपछि सरकारले प्रस्तुत गर्ने विधेयकबारे छलफल भन्दै गृहमन्त्री बालकृष्ण खाणले सभामुख अग्नि सापकोटासँग भेटेका थिए । स्रोतले गृहमन्त्री खाणले एमसीसी प्रतिवेदन आउने सम्भावना रहेको जानकारी गराएको स्रोतले बतायो ।

देउवाले आफ्नो प्रतिष्ठाको विषय रहेको भन्दै माओवादी अध्यक्ष दाहालसँग पनि सरकारले प्रस्ताव लैजाने र पास गर्न सहयोगका लागि आग्रह गरेको बालुवाटार स्रोत बताउँछ ।जवाफमा दाहालले आफ्नो पार्टीमा एमसीसीको विपक्षमा धेरै नेता र सांसद रहेकाले सबैको मत पक्षमा पर्नेमा आफू विश्वस्त नरहेको बताएका थिए ।

माओवादीमा प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख सापकोटा नै एमसीसीप्रति सकारात्मक छैनन् । त्यसपछि देउवाले सभामुखको धारणा बुझ्न गृहमन्त्री खाणलाई पठाएको निकटस्थहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *