६ मन्त्रालय सहित माधव नेपाल पनि सरकारमा सामेल हुने, माओबादीको नाममा पनि पर्ने भए ६ मन्त्रालय

६ मन्त्रालय सहित माधव नेपाल पनि सरकारमा सामेल हुने, माओबादीको नाममा पनि पर्ने भए ६ मन्त्रालय

शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् ।

‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, दाहाल र प्रधानमन्त्रीज्यूबीच मंगलबार मात्रै पनि वान टु वान वार्ता भएको छ तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ कांग्रेस महामन्त्री खड्काले भने ।

हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई÷दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले क्याबिनेट पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटकाहरूलाई दिएका छन् ।यसैगरी, नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन सत्तारूढ दलहरूले प्रयत्न गर्दै आइरहेका छन् ।

सो प्रयासमा प्रधानमन्त्री देउवा आफैं लागेका छन् भने माओवादी अध्यक्ष दाहाल पनि लागिपरेका छन् । एमालेको माधव समूह सरकारमा ल्याउनेगरी सत्तारूढ दलबीच भागबन्डाको तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन् । यस्तै, जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ ।

स्रोतका अनुसार मन्त्रालय भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । यसैगरी, माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६÷६ मन्त्रालयमा संवाद भइरहेको छ । यस्तै, नेकपा एमालेको नेपाल समूहलाई ५ वा ६ मन्त्रालय दिने विषयमा शीर्ष तहमा आन्तरिक छलफल भइरहेको छ ।

तर, अन्य दलहरू पनि सरकारमा सहभागी हुन सक्ने भन्दै संख्याको टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । कांग्रेसले अब आफूले लिएका बाहेक अब चार मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

कांग्रेसको संस्थापन समूहबाट डा. नारायण खड्का, डा. डिला संग्रौला, मीन विश्वकर्मा देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह आकांक्षी छन् । यीमध्ये संग्रौला, खड्का र विश्वकर्माको सम्भावना बढी छ । विश्वकर्मा मन्त्री नभए देउवाले विश्वकर्मालाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाउन सक्छन् ।

संस्थापनइतर समूहले भने महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । यीमध्ये सुजाताको सम्भावना बढी छ । उनी परराष्ट्रमन्त्रीसँगै उपप्रधानमन्त्री हुने सम्भावना छ । सो समूहबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्रीका लागि चर्चामा छन् ।

यस्तै सिटौला समूहबाट सांसदहरू गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको नाम चर्चामा छ । सिटौलाले प्रधान र चौधरीमध्ये एकलाई मन्त्री बनाउन चाहेका छन् । तर, उनले कुनै निर्णय भने गरिसकेका छैनन् । यो समाचारराजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *