काठमाडौंमा लागु हुने भयो अनौठो नियम, सर्वसाधारण पनि अचम्ममा !

काठमाडौंमा लागु हुने भयो अनौठो नियम, सर्वसाधारण पनि अचम्ममा !

स्थानीय तहको अधिकार प्रयोग गर्दै काठमाण्डौं महानगरपालिकाले यस शैक्षिक सत्र बाट काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा (नेपाल भाषा) को अध्ययन अनिवार्य गरेको छ । २०७७ साल असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिकाअन्तर्गत सबै विद्यालयहरुमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने निर्णय पारित गरेको थियो ।

सोही निणर्य कार्यान्वयन गर्न कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनैपर्ने भन्दै महानगरले पहल सुरु गरेको हो ।अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ ।

अब यो नियम सामुदायिक विद्यालयमा मात्रै नभएर निजी विद्यालयमा लागू हुने महानगरपालिकाले जनाएको छ । यस प्रयोजनका लागि महानगरपालिका आँफैले १७२ जना शिक्षकको नियुक्ति गरेर सामुदायिक विद्यालयमा पठाएको छ । ती शिक्षकहरुले महानगरभित्र रहेका ९२ वटा सामुदायिक विद्यालयमा पढाउनेछन् ।

पहिले पनि स्थानीय पाठ्यक्रम भनेर अतिरिक्त गणित, अङ्ग्रेजी वा विज्ञान विषय पढाइन्थ्यो । तर यसपटकबाट भने महानगरले जबरजस्ती नेपाल भाषाको अध्ययनलाई अगाडि बढाएको छ । जसका कारण निजी विद्यालयहरु के गर्ने भन्ने अन्योलमा परेका छन् । धेरै बिद्यालयहरुमा नेवारी भाषा बोल्ने र बुझ्ने विद्यार्थी ५ प्रतिशत पनि छैनन् ।

तर महानगर नेपाल भाषा पढाउन पहल गरेपछि अभिभावक पनि अचम्ममा परेका छन् । धेरै बिद्यालयहरुले महानगरको यो निर्णय पालन गर्न सम्भव नभएको बताएका छन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरी महानगरले काठमाडौंमा नेवार विद्यार्थी मात्रै छन् भनेर सोच्नु गलत भएको बताउँछन् । काठमाडौं देशकै राजधानी भएकाले यहाँ सबै क्षेत्रबाट मानिसहरु आउने भएकाले स्थानीय भाषा भन्दा स्थानीय विषयवस्तु समेटिएको पाठ्यक्रममा जोड दिनुपर्ने पुरी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *