यसकारण भीम रावलले सांसद पदबाट दिए राजीनामा

यसकारण भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार नयाँबानेश्वरस्थित संसद् भवनमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा राजीनामा दिनु उचित रहेको निष्कर्ष निकाल्दै नेता रावलले राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘ अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गएपछि आफूले सांसद पदबाट राजीनामा दिन बाध्य भएको उनले बताएका छन् । उनका अनुसार अनैतिक राजनीतिले आज नेपाल र नेपालीको शीर निहुरिँदै गएको छ ।

केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि–पद्धति देख्दा सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुने पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले राजीनमा पत्रमा लेखेका छन्, ‘अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *